INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पले भत्किएका सात विद्यालय भवन अझै पुनर्निर्माण भएनन्

कालिका गाउँपालिका–१ को अनन्त स्मृति आधारभुत विद्यालय, उत्तरगया गाउँपालिका–१ को तिरू आधारभूत, कालिका आधारभूत, बालोदय आधारभूत, करूमर्‍याङ आधारभूत, भूमेदेवी आधारभूत र आमाछोदिङमो गाउँपालिका–५ स्थित पाजुङ आधारभूत विद्यालय भूकम्पका कारण क्षति भएपनि अझै पुनर्निर्माण नहुँदा विद्यार्थी समस्यामा परेका छन् ।

विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरू ढुक्कले पढ्न समस्या भएको छ । कति बेला भवन भत्किन्छ भनेर त्रासमा अध्ययन गर्नु परेको विद्यार्थीहरूको गुनासो छ ।

विनाशकारी भूकम्पपछि जोखिमयुक्त बस्तीमा परेकाले यी स्थानहरूमा विद्यालय निर्माण हुन नसकेको हो । धेरै सामाजिक संस्था र जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) मा धाएपनि रकम विनियोजन नगरेको पाजुङ आधारभूत विद्यालयका प्रधानाध्यापक केदार घिमिरेले बताए ।

‘वर्षातमा पानी परेको समय वा पुसमाघको हिमपात भएपछि विद्यालय बन्द गर्नु पर्ने स्थिति आउँछ ।’–प्रधानाध्यापक घिमिरेले भने ।

अस्थायी सिकाइ केन्द्र पनि पानी चुहिने भएकोले विद्यार्थीहरूलाई पढाउन समस्या परेको उनले बताएका छन् ।

भूगर्वविद्ले विद्यालय रहेको पूरै बस्ती जोखिममा रहेको भनेर प्रतिवेदन दिएपछि रसुवाको सात स्थानमा विद्यालय भवन निर्माण हुन नसकेको हो ।

शिक्षा समन्वय एकाईका ध्रुव लामिछानेले भने–‘सरकारले असुरक्षित भनेको स्थानमा विद्यालय भवन निर्माण हुन सकेन ।’

भूकम्पका कारण पूरैगाउँ जोखिम बस्तीमा परेका कारण त्यही ठाउँमा भवन निर्माण गर्न नमिल्ने भएकाले विद्यालय बनाउन नसकिएको जिल्ला आयोजना कार्यान्वयन ईकाइ शिक्षाले जनाएको छ ।

भूकम्प गएको पाँच वर्षसम्म पनि विद्यार्थीहरू खुल्ला चौरमा कष्टसाथ पढ्न बाध्य भएका छन् ।

कक्षा कोठा अभावमा भूकम्प प्रभावित विद्यालय अझै उस्तै रहेकाले विद्यार्थी समस्यामा परेको आमाछोदिङमो गाउँपालिका–५ का वडा सचिव छोवाङ तामाङले बताए ।

उनले भने–‘न बस्ती स्थानान्तरण हुन सक्यो न विद्यालय नै स्थानान्तरण भयो । खुल्ला चौरमा कतिदिन जोखिममा पढ्नु/पढाउनु ?’

photo20190929rasuwa (1)

photo20190929rasuwa (2)

अन्य

भिडियो