INSEC Online

📅 २०८३ जेष्ठ २१

दोब्बर बढी कैदीले कारागार सञ्चालनमा समस्या

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सञ्चालनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको जिल्ला कारागार, बैतडीमा हाल ४० कैदी र ११ थुनुवा गरी जम्मा ५१ जना छन् ।

जसले कारागारको व्यवस्थापनमा समस्या भएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले बताए ।

तिवारीका अनुसार कारागारमा भवन र सुद्ध खानेपानीको समस्या छ । बन्दी गृहका साथै सुरक्षाकर्मी बस्ने भवन समेत जीर्ण हुँदा वर्षातको समयमा चुहिने समस्या रहेको तिवारीले बताए ।

जिल्ला अस्पताल, जिल्ला अदालत गारागार भन्दा झण्डै तीन–चार किलोमिटरको दुरीमा भएकाले कैदीलाई बयान र उपचारका लागि लग्न समेत समस्या हुने गरेको उनको भनाई छ ।

‘२०४० सालमा निर्माण भएको जिल्ला कारागार बैतडीको भवनलाई गत वर्ष इन्सेकले गरेको अनुगमनपछि मर्मत गरेको भएपनि अझै थुप्रै समस्याहरू विद्यमान छन् ।’–जेलर तिवारीले भने–‘कारागारमा भवन, खानेपानी र सवारीसाधन अभावका कारण निकै समस्या भएको छ ।’

कारागारको समस्याका बारेमा सम्बन्धित निकायलाई पटकपटक आग्रह गर्दा समेत कुनै पहल नभएको तिवारीले गुनासो गरे ।

पछिल्लो समय सुधारगृहका रूपमा लिन थालिएको कारागारको भौतिक संरचना अभाव र अन्य व्यवस्थापकीय कमजोरीका कारण कैदीबन्दीले विभिन्न समस्याहरू झेल्दै आएका छन् ।

अन्य

भिडियो