INSEC Online

📅 २०८३ जेष्ठ २१

समाजिक बहिष्कार गरेपछि एकै परिवारका नौ जना विस्थापित

सुवर्ण गाउँपालिका–६ धरमपुर गाउँका ३४ वर्षीय अवधेशप्रसाद यादव भनिने ओमप्रकाश यादव, उनको पत्नी २६ वर्षीया सुमित्रा देवी, पाँच वर्षीया छोरी अनु यादव, ४६ वर्षीया आमा विन्दा देवी अहिरीन, कान्छो भाई २९ वर्षीय पप्पु यादव, भतिजो १२ वर्षीय रितीकरोशन यादव, आठ वर्षीय प्रशान्त यादव र १४ वर्षीया श्रृति यादवलाई स्थानीयले समाजिक बहिष्कार गरेपछि गाउँबाट विस्थापित भएको छ ।

वैशाख २२ गते राति आफू र आफ्ना परिवारका सदस्यहरूले ज्यान जोगाउन गाँउबाट भागेर हिडेको र हाल मकवानपुरको हेटौँडामा बसेको अवधेशप्रसाद यादवे बताए ।

वैशाख १५ गते राति १०ः३० बजेको समयमा ६१ वर्षीय बुबा अनुठा यादवको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा निधन भयो ।

बुबाको काजकिरिया सामाजिक परम्परा र धार्मिक रीतिरिवाज अनुसार नगरेको भन्दै गाउँका ११ जना अगुवाहरूले आफ्नो घरपरिवारलाई सामाजिक बहिष्कार गरेको पीडीत अवधेशप्रसाद यादवले जनाएका छन् ।

सोही ठाउँका स्थानीय विद्यानन्द यादव, उदयनारायण राउत, भरोसी राउत, गणेश यादव, मुँसी यादव, बैद्यनाथ गिरी, श्री निवास बरै, रामअश्रे राउत र रामाधार राउत सहितका व्यक्तिहरूले गाउँमा सबै व्यक्तिलाई भेला गराएर अवधेशप्रसाद यादव परिवारलाई बहिष्कार गर्न उर्दी जारी गरेपछि उनीहरू घर छाड्न बाध्य भएको पीडितले बताए ।

अवधेशप्रसाद यादवका परिवारसँग बोल्ने वा कुनै किसिमको व्यवहार गरेमा ३० हजार रुपियाँ दण्ड गर्ने निर्णय गरेको स्थानीयले बताए ।

केही ब्यक्तिहरूको डरले ती समाजिक रूपमा बहिष्कार गरिएका पीडित परिवारको घरमा नजाने तथा कुनैपनि व्यवहार नगरेको स्थानीयले बताए । कामदारहरूलाई समेत पीडित अवधेशप्रसाद यादवको घर र खेतबारीमा काम गर्न रोक लगाए ।

पीडित यादवको घरमा ताल्चा लागेको छ भने चामल मिल समेत बन्द रहेको छ । सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले गाउँका मानिसहरूले सामाजिक बहिष्कार गर्नु गलत भएको बताउँदै आफूले घटनाबारे गम्भीर रूपमा लिएको बताए ।

निर्वाचन क्षेत्र नम्बर २ का सांसद रामसहाय यादवले धर्मको नाममा सामाजिक बहिष्कार गर्नु कानुनको उल्लङ्घन भएको बताउँदै त्यसमा संलग्नलाई कारबाही गर्न स्थानीय प्रशासनसँग आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी मुरारी कार्कीले स्थानीय गाउँपालिका र वडाले घटनालाई बुझेर मिलाउनुपर्ने बताए ।

अन्य

भिडियो