मनोसामाजिक अपाङ्गता भएकी २२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चितवन खैरहनी नपा–८ का २८ वर्षीय विष्णु बस्नेतलाई ७ वर्ष ६ महिना कैद सजाय र ५० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।
न्यायाधीश पुनाराम खनालको असार २९ गते बसेको इजलासले सो फैसला गरेको जिल्ला अदालतका सूचना अधिकृत दुर्गाबहादुर कार्कीले जानकारी दिए ।
पीडित युवतीलाई आरोपित बस्नेतले ०७५ भदौ ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई भदौ १४ गते गिरफ्तार गरेको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ ११ गते नै भरतपुर अस्पताल चितवनमा गरिएको थियो ।