INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारजस्ता जघन्य आपराधका आपराधीलाई कडा कारवाही गर्ने मन्त्री थापाको प्रतिबद्धता

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले बलात्कारजस्ता महिला हिंसाका जघन्य घटनामा संलग्नलाई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा फागुन २४ गते काठमाडौँमा विभिन्न सङ्घसंस्थाको आयोजनामा आयोजित प्रभातफेरिपछिको सभालाई सम्बोधन गर्दै मन्त्री थापाले सो प्रतिबद्धता जनाउँदै महिला हिंसाको अन्त्यका लागि एकजुट हुनुपर्ने आवश्यक्ता रहेको बताएकी छन् ।

बलात्कारलगायतका महिला हिंसाविरूद्धमा तत्काल उजुरी र सूचना दिन ११४५ नं को टोल फ्री नम्बर सरकारले उपलब्ध गराइएको बताउँदै मन्त्री थापाले त्यस्ता घटनाका दोषीलाई कडा कारबाही गराउन सरकार प्रयत्नशील रहेको प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, गैरसरकारी संस्था महासङ्घ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), म बोल्छु, रक्षा नेपाल, एटवीनलगायतका सङ्घसंस्थाद्वारा र्‍यालीको आयोजना गरिएको थियो ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको सो र्‍याली भद्रकाली मन्दिर, शहीद गेट हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागी अधिकारकर्मीहरूले ‘महिला हिंसाको अन्त्य गरौँ’, ‘मानव बेचबिखनरहित समाज निर्माण गरौँ’, ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सहभागी भएका थिए ।

अन्तर्राष्ट्रिय महिला दिवसमा यस वर्षको नारा ‘आर्थिक सशक्तिकरणसहितको सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाको जीवनस्तरमा रूपान्तरण’ भन्ने तय गरिएको छ । प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाइने अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकतासम्बन्धी दिवस हो ।

सर्वप्रथम १९०९ फेबु्रअरी २८ मा यस्तो दिवस मनाइएको थियो । सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।

यसैबीच नेकपा एमालेका महासचिव एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अंश र वंशमा पुरूषसरह समान अधिकार प्राप्त नभएसम्म महिला माथिको विभेद अन्त्य नहुने बताएका छन् ।

काठमाडौंमा आजै आयोजित १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री पोखरेलले राज्यका हरेक अङ्ग एवम् क्षेत्रमा महिलाको सम्मान सहभागिताका लागि सरकार तत्पर रहेको बताए ।

1

1

1

1

1

1

1

1

1

1

फोटोः विमलचन्द्र शर्मा

अन्य

भिडियो