INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भीरः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताएका छन् ।

१०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा फागुन २४ गते शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरूले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने बताएका हुन् ।

‘यस्ता कुराहरूको अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानुनी एवं व्यवहारिक रुपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु’-प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।

सरकारका विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभुत स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीद्वारा जारी सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्-‘यस्तो अवस्थाको सुधारका लागि सबै सरोकारवाला निकायहरूले अझै प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।’

नीति निर्माण तहमा महिलाको सङ्ख्या बढाउन संवैधानिक रूपमा विशेष प्रवधान राखिएको उनको भनाइ छ । राष्ट्रपति-उपराष्ट्रपति मध्ये एक, सभामुख-उपसभामुख मध्ये एक, राष्ट्रिय सभाको अध्यक्ष- उपाध्यक्ष मध्ये एक, प्रदेशको सभामुख-उपसभामुख मध्ये एक र स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुनै पर्ने प्रावधान महिला शसक्तिकरणका लागि महत्वपूर्ण फड्को भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपालको सङ्घीय संसदमा ३३ प्रतिशत भन्दा बढी, प्रदेश सभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला प्रतिनिधिहरू निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

Photo20180308Ktm (1) Photo20180308Ktm (2)

अन्य

भिडियो