INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहका जनप्रतिनिधिद्वारा सुरक्षाको माग

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधिलाई तत्काल राजीनामा दिन दबाव दिएपछि स्थानीय तहका जनप्रतिनिधिद्वारा फागुन २० गते स्थानीय प्रशासनसँग सुरक्षाको माग गरेका छन् ।

जनतासँग ‘जथाभावी कर सङ्कलन’ नगर्न आग्रह गर्दै राजीनामा दिएर जनसत्तालाई सहयोग गर्न नेपाल कम्युनिष्ट पार्टीले आग्रह गरेपछि जनप्रतिनिधिहरूले स्थानीय प्रशासनसमक्ष सुरक्षाको माग गरेका हुन् ।

पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले वडाध्यक्षसहित उपाध्यक्ष र अध्यक्ष सबैलाई पदबाट राजीनामा दिन नेकपाले लिखित पत्र पठाएको बताए । उनले भने-‘स्थानीय तहमा सुरक्षा अवस्थामा चुनौती थपिएको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएका छौँ ।’ राज्यले सुरक्षाको व्यवस्था मिलाउनु पर्ने प्रमुख बोहोराले बताए ।

गोठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले पछिल्लो समयमा जनताको काम गर्न असुरक्षा भएको बताए । उनले भने-‘कामको सिलसिलामा दुर्गम गाउँमा जान निकै समस्या हुने गरेको छ । नेकपाको पत्र हातमा छ । तत्काल राजीनामाको माग गरेका छन् ।’-उनले थपे-‘पत्रमै राजीनामा समयमै नगरे भौतिक कारबाही गर्नेसम्म उल्लेख गरिएको छ ।’

सुरक्षाको जिम्मा स्थानीय प्रशासनले लिनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई भेटेर उनले गाउँपालिका कार्यालय नजिकै प्रहरी फोर्स बढाएर राखिदिन माग गरे ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जनप्रतिनिधिको सुरक्षा चुनौतीलाई स्थानीय प्रशासनले सहज रूपमा सामना गर्ने बताए । उनले भने-‘जनताको हितका लागि ढुक्कसँग काम गर्नुस् । हामी तपाईँहरूको सुरक्षाको जिम्मा लिन्छौँ ।’

कहिँकतैबाट असुरक्षित महसुस भएमा स्थानीय प्रहरी प्रशासनलाई जानकारी दिन उनले सुझाव दिएको बताए । ‘नेकपाको पत्र जनप्रतिनिधिसम्म पुगेको जानकारी पाएका छौँ ।’-उनले भने-‘पत्र पुग्दैमा डराउनु पर्ने अवस्था छैन । तर, अप्ठ्यारो अवस्था सिर्जना हुने सङ्केत हुने बित्तिकै थाहा दिनुहोला । सुरक्षाको सम्पूर्ण जिम्मा हामी लिन्छौँ ।’

जिल्लाका एक नगरपालिकासहित आठ वटा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिल्ला समन्वय समितिका पदाधिकारीसमेतलाई राजीनामा गर्न भनिएको छ । दुर्गम क्षेत्रका जनप्रतिनिधिले आफूहरूको सुरक्षाको माग गर्दै सम्बन्धित प्रहरी चौकीमा समेत जानकारी गराएका छन् ।

अन्य

भिडियो