मङ्सिर १० गते मतदान स्थगित भएका रूकुम (पश्चिम) का दुई मतदान केन्द्रमा मङ्सिर १५ गते शान्तिपूर्ण ढङ्गले पुनःमतदान सम्पन्न भएको छ ।
बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका दुई मतदान केन्द्रमा मङ्सिर १० गते भएको मतदानको क्रममा मतपेटिकामा एसिड हालेर आगो लागेपछि मतदान स्थगित भएको थियो ।
बाँफिकोट गाउँपालिका-५ को रत्न आधारभुत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यको लागि र आठबिसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिकको लागि मतदान भएको हो ।
रत्न आधारभुत विद्यालय काँडा (क) मतदान केन्द्र बाँफिकोट-५ मा ६ सय ७२ मतदाता मध्ये १ सय ९९ महिला र १ सय पुरूष गरी ३ सय ९७ मतदाताले मतदान गरेको मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । यसअघिको मतदानमा बाँफिकोटमा २ सय ४६ मत खसिसकेपछि मतपेटिकामा आगो लगाइएको थियो ।
त्यसैगरी ७ सय ५६ मतदाता रहेको आठबिसकोटमा ३ सय २१ मत खसेको मतदान अधिकृत कर्ण कुँवरले जानकारी दिएका छन् । यस अघि आठबिसकोटमा ३ सय ३ मत खसिसकेपछि मतपेटिकामा आगो लगाइएको थियो ।