INSEC Online

📅 २०८३ जेष्ठ २१

न्याय सम्पादनमा देखा परेका समस्या र सुधारका उपाय विषयक अन्तरक्रिया सम्पन्न

अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढी लगायत मानव अधिकार तथा न्यायसँग सम्बन्धित अन्य संस्थासमेतको संयुक्त आयोजनामा कैलाली जिल्लामा न्याय सम्पादन गर्दा देखा परेका समस्या र सुधारका उपाय विषयक अन्तरक्रिया साउन २ गते धनगढीमा सम्पन्न भएको छ ।

Photo20170717Kailali

कार्यक्रममा अधिवक्ता राजेन्द्रबहादुर साउदले कैलाली जिल्लामा न्याय सम्पादनका समस्या र सुधारका उपायको बारेमा एक आधारपत्र प्रस्तुत गरेका थिए । आधारपत्रमा कानुन व्यवसायी, अर्धन्यायिक निकाय, जिल्ला सरकारी वकिल र प्रहरी प्रशासनले न्याय सम्पादन गर्ने क्रममा देखा परेका समस्याहरू उल्लेख गरिएको थियो ।

महिला अधिकारकर्मी सावित्रा घिमिरेले फैसला भएको मुद्दा कार्यान्वयन नहुने गरेको, बलात्कार पीडितले क्षतिपुर्ति पाउने व्यवस्था रहेतापनि पीडितले क्षतिपुर्ति पाउन नसक्ने समस्या रहेको बताइन् । उनले शक्ति र पहुंचको आधारमा न्याय सम्पादन हुने गरेकोले दलित, उत्पीडित वर्ग र गरिब नागरिकहरूले सहज रूपमा न्याय पाउन नसकेको बताइन् ।

Photo20170717Kailali1

कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले न्याय सम्पादन प्रक्रियामा दक्ष जनशक्तिको अभाव, न्यायिक तथा अर्धन्यायिक निकायहरूमा कानुनी कार्यविधिसम्बन्धी ज्ञानको अभाव, परम्परावादी अनुसन्धान प्रक्रिया, र राजनीतिक प्रभाव तथा दबावका कारण न्याय सम्पादनमा समस्या आउने गरेको बताए ।

उनले नेपाल प्रहरीलाई जनताको प्रहरी बनाउनु पर्ने, प्रविधिक स्रोत साधनको उचित परिचालन गर्नुपर्ने र सम्बन्धित सबै पक्षसँग समन्वय गरी न्याय सम्पादन गर्न सके मात्रै जनताले न्ययाको अनुभूति गर्न सक्ने बताए । साथै उनले अबका नवनिर्वाचित जनप्रतिनिधिहरूले न्याय पद्धतिलाई सरल बनाउन पहल गरेमा न्याय सम्पादनमा सुधार हुने बताए ।

जिल्ला न्यायाधीश धनसिंह महराले समस्याको सृजना गर्ने र समाधान गर्ने नागरिक आफैँ रहेकोले नागरिकले गर्ने गैरकानुनी कार्यविधिमा सुधार गरे मात्रै न्यायमा सुधार हुने बताए । उनले प्रहरी र प्रशासनको सकारात्मक सहयोग पाउन सकेमा न्याय सम्पादन छिटो छरिटो हुने बताउँदै मुद्दाको फैसला ढिलो भएपनि अपराधि कुनै हालतमा नछुटोस भन्ने सिद्धान्तमा आफूहरू न्याय सम्पादन गर्दै आएको बताए ।

अन्य

भिडियो