रामेछापमा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बालकल्याण समिति रामेछापले वैशाख १२ गते आयोजना गरेको कार्याक्रममा जिल्लाका राजनीतिक दलहरूले सो प्रतिबद्धता जाहेर गरेका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बालकल्याण समिति रामेछापका अध्यक्ष सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा जिल्लाका राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाहरूले आठ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतिबद्धता पत्रमा निर्वाचनअघि, निर्वाचनको दिन र निर्वाचनपछि पनि बालबालिकालाई कुनै पनि हिसावले प्रयोग नगर्ने कुरा उल्लेख छ । दलहरूले बालबालिकाको हित विपरीत कुनै पनि काममा आफूहरू पनि सहभागी नहुने र अरूलाई पनि सहभागी नगराउने प्रतिबद्धता जाहेर गरेका छन् ।
प्रतिबद्धतापत्रमा नेपाली काङ्ग्रेसका नेता झपडराज भण्डारी, एमाले उपसचिव झम्क कँडेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक कमिटीका सदस्य तारानारायण श्रेष्ठ, राप्रपाका सुरेन्द्र केसी, नेकपा मालेका सचिव ओमबावु पुरी, संयुक्त समाजवादी फोरमका सोनामा तामाङलगायतले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बालकल्याण समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले बालबालिकाको प्रयोग निर्वाचन आचासंहिता विपरीतसमेत भएकोले यसमा सजग हुन दलहरूलाई आग्रह गरे । सोही कार्यक्रममा बालबालिकाको प्रयोग भए नभएको अनुगमन गर्न महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भएको छ ।