सरकारले संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गरेपछि स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चैत ३१ गते राजविराजसहित विभिन्न शहरमा विरोध प्रदर्शन गरेको छ ।

संविधान संशोधनको नयाँ विधेयकले मोर्चा र गठबन्धनले उठाएका माग सम्बोधन नगरेको भन्दै मोर्चाले मुद्दा सम्बोधन गराउन आन्दोलनलाई निरन्तरता दिएको जनाउँदै देशका विभिन्न शहरमा विरोध प्रदर्शन गरेको हो ।
राजविराजमा आयोजित कोणसभामा वक्ताहरूले मोर्चा र गठबन्धनसँग सरकारले गरेको छलफलमा उठेका मुद्दा विपरीत नयाँ संशोधन विधेयक ल्याएको आरोप लगाए । वक्ताहरूले माग सम्बोधन बिना गरिने स्थानीय चुनावमा सहभागी नहुने र जबरजस्ती निर्वाचन गरे बिथोल्ने चेतावनी दिएका छन् ।

नयाँ विधेयक पहिलेभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै निर्वाचन बहिष्कारसहित आन्दोलनमा उत्रिएको मोर्चाले सहमति र सम्झौताविपरीत सरकारले ल्याएको नयाँ संशोधन प्रस्तावले सिमाङ्कनलगायतका मुद्दा सम्बोधन नगरेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेसँगको परामर्शमा संविधान संशोधनको नयाँ विधेयक ल्याइएको बताउँदै पहिले दर्ता गरेको संशोधन विधेयक फिर्ता लिई पुनः अर्को संविधान संशोधन विधेयक चैत २९ गते व्यवस्थापिका संसदमा दर्ता गराएको बताएका थिए ।
