INSEC Online

📅 २०८३ जेष्ठ २१

डोटीमा अत्यावश्यक औषधि अभाव

जिल्ला स्वास्थ्य कार्यालयको लापरवाहीका कारण डोटीका स्वास्थ्य चौकीहरूमा अत्यावश्यक औषधिको अभाव देखिएको छ ।

लामो समयदेखि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विहीन हुनु, केन्द्रबाट पठाउने औषधिका लागि समन्वय नहुनु, आफै खरिद गर्नु पर्ने औषधिसमेत जिल्ला स्वास्थ्य कार्यालयले ल्याउन नसक्नु जस्ता कारणले औषधि अभाव देखिएको हो । अहिले जिल्ला अस्पताल देखि गाउँका स्वास्थ्य चौकीहरूमा समेत औषधि नहुँदा बिरामी मार्कामा परेका छन् ।

ग्याष्ट्रिक, पखाला, प्रसूती पश्चात लगाइने सुई एक वर्षदेखि आफूहरूसँग नभएको मुढ्गाउँ स्वास्थ्य चौकीका इञ्चार्ज प्रेम कठायतले बताए । तीन महिनादेखि आइरन, साइभीपी खोप र सिटामोलसमेत अभाव भएको उनले बताए । डोटीमा क्षेत्रीय मेडिकल स्टोर धनगढीले सात महिनादेखि औषधि नपठाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सिलगढी नपा-११ तिखा स्वास्थ्य चौकी इञ्चार्ज तेज खड्काले औषधि अभावको आरोप तत्कालीन कार्यालय प्रमुख रीता भण्डारीमाथि लगाए ।

भण्डारी सरुवा भएर गएपछि निमित्त पाएका खोप सुपरभाइजर राम स्वार्थ यादवले आर्थिक अधिकार नहुँदा टेण्डर प्रक्रिया अघि बढाउन नसकेको बताए । अहिले आर्थिक अधिकार पाएपछि तीन लाख रुपियाँ बराबरको औषधि आपतकालीन अवस्थामा खरिद गरी काम चलाइएको उनले बताए ।

दुई त्रैमासिक औषधिविहीन बनेका स्वास्थ्य संस्थाहरूमा सिटामोलसमेत नभएको जिल्ला स्वास्थ्य कार्यालयका औषधि फाँटका श्रोत व्यक्ति हरिस शाहले भने-‘अहिले अन्तरिक रूपमा खरिद गरिएको तीन लाख रुपियाँ बराबरको औषधि अलिअलि गरेर सबैलाई बाँडेका छौँ ।’

अन्य

भिडियो