INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा एक महिलामाथि ‘पञ्चायत’मै कुटपिट तथा नगद जरिवाना

महिला हिंसा अन्त्य गर्न विभिन्न खाले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको बेला कथित बोक्सीको आरोपमा धनुषामा एक महिलामाथि कुटपिट भएको छ ।
धनुषाको धनौजी गाउँपालिका–२ की ३८ वर्षीया मन्तोरिया देवी मण्डललाई कथित पञ्चहरूले बोक्सी भन्दै कुटपिट गरेका छन् ।
मन्तोरियालाई जेठाजु ईन्दल मण्डल खत्वेले कथित बोक्सीको आरोप लगाएका थिए । उनलाई बोक्सी स्वीकार गर्न स्थानीय पञ्चहरूलाई ५० हजार रुपियाँ र भोज गर्न ५० हजार रुपियाँ गरी १ लाख रुपियाँ जरिवाना तोकिएको थियो ।
कात्तिक ९ गते बसेको पञ्चायतमा मन्तोरियाले जरिबाना दिन अस्वीकार गरेपछि उनीमाथि कुटपिट भएको थियो । मन्तोरियाले भनिन्–‘जेठाजु ईन्दलले जबरजस्ती बोक्सी स्वीकार गराउन म माथि जाइलागेका थिए । जातीय पञ्चहरूलाई बोलाई कुटपिट गर्दै बोक्सी रहेको स्वीकार गराएरै छोडे ।’
पञ्चायतमा खत्वे समाजका स्थानीय माइजन (प्रमुख) फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डलसहित जेठाजु ईन्दलले लछारपछार गर्दै कुटपिट गरेको दुखेसो पीडित महिलाले कात्तिक १८ गते प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवसमक्ष पोखिन् ।
चार छोराछोरीकी आमा मन्तोरियाले वैदेशिक रोजगारमा रहेका आफ्ना पतिलाई फोन गरेर घटनाको विवरण सुनाएपछि पतिले स्थानीय जनप्रतिनिधि नजिक पुगेर न्याय माग्न सुझाव दिएका थिए ।
तर, धनौजी गाउँपालिका–२ का वडाअध्यक्ष राजकुमार साहले भने पञ्चहरूले गरेको निर्णय स्वीकार गरी गाउँमै मिल्न सुझाव दिएको मन्तोरियाको भनाइ छ ।
आफूमाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाही र न्यायको माग गर्दै मन्तोरियाले जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा कात्तिक १६ गते उजुरी दर्ता गराएकी छिन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले न्याय दिलाउन मन्तोरियालाई आश्वासन दिएका छन् । घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि शीघ्र कारबाही प्रक्रिया अगाडि बढाइने मन्त्री यादवले वचन दिएका छन् ।

अन्य

भिडियो