राजविराज नपा–६ स्थित जिल्ला प्रहरी कार्यालयसँगै जोडिएको घरमा एक्लै बस्दै आएकी ४५ वर्षीया आशादेवी देवको हत्या आरोपमा गिरफ्तार पश्चात यातना दिई झुठा मुद्दा चलाइएको आरोप लगाउँदै राजविराजका दलित मेहतर समुदायले कात्तिक १३ गते राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।
नेपाल राउत मेहतर उत्थान समाज, मधेसी महिला वकालत मञ्च नेपाल र महिला अधिकार मञ्च सप्तरीको व्यानरमा प्रदर्शनकारीहरूले निर्दोषहरूलाई फसाँई हत्याराहरूलाई जोगाउन खोजेको आरोप लगाउँदै प्रहरीको विरोधमा नाराबाजी गरी नगर परिक्रमा गरेका थिए ।
एसपी, डिएसपी, इन्स्पेक्टरलाई कारवाही गर, प्रहरी यातना बन्द गर, दोषीलाई कारवाही गर र उच्च स्तरीय छानविन समिति गठन गरलगायतका नारा लगाउँदै निकालिएको जुलुसमा गिरफ्तारीमा परेका परिवारका सदस्य, आफन्त र छिमेकीहरूको सहभागिता थियो ।
प्रहरीले देवकै साथी तथा छिमेकीहरू ३० वर्षीया चनरदेवी मेहतर, ३५ वर्षीया मुन्नीदेवी साह, ३२ वर्षीय शङ्कर राउत मेहतर र २६ वर्षीय सुरज राउत मेहतरलाई गिरफ्तार गरी कात्तिक १२ गते सार्वजनिक गरेको थियो ।
मेहतर उत्थान समाजका अध्यक्ष मनोज मेहतरले षडयन्त्रपूर्वक ढंगले प्रहरीले हिरासतमा यातना दिई जबरजस्ती हत्या स्वीकार्न बाध्य पार्ने काम गरिरहेको आरोप लगाए ।
प्रहरी कार्यालयको छेउमै हत्या हुँदा पनि थाहा नपाउने प्रहरीले १० दिनपछि घटनाको ढाकछोप गर्न निर्दोषहरूलाई कारवाही गरी अपराधिलाई छुट दिएर हत्याराहरूको मनोबल बढाउने काम गरिरहेको बताए ।
यसैगरी हिरासतमा हातगोडा र मुख बाँधेर आशा देवको हत्या घटना स्वीकार्न दबाब दिँदै आफूलाई पनि यातना दिएको बिक्की राउतले आरोप लगाए ।
हत्या आरोपमा गिरफ्तारीमा परेका सुरज मेहतरकी आमा कान्ति मेहतरले निर्दोष छोरालाई हिरासतमा यातना दिएर झुठा मुद्दा चलाएको बताइन् ।
कात्तिक २ गते टाउकोमा गहिरो चोटले रक्ताम्य भएको अवस्थामा देवको लाश उनकै ओछ्यानमा फेला परेपछि प्रहरीले १२ जनाभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिई केरकार गरेको थियो ।
डिएसपी भावेश रिमालले १ सय अपराधी छुटेपनि एक जना निरपराधलाई नफसाउने प्रहरीको सिद्धान्त अनुरुप काम गरिएको बताए । धेरै कोणबाट अनुसन्धान गर्दा गिरफ्तारीमा परेका चार जना दोषी पाइएकोले कर्तव्य ज्यानको मुद्दा चलाइएको बताउँदै उनले प्रहरी हिरासतमा यातना दिने पक्षमा प्रहरी नरहेको बताए ।




