घिरिङ गाउँपालिका–४ का वडा अध्यक्ष झकबहादुर कुमालविरूद्ध बलात्कार घटनाको उजुरी परेपनि प्रहरीले गिरफ्तार नगर्दा आरोपित खुलेआम हिँडिरहेकाले पीडित बालिका असुरक्षित भई संरक्षण केन्द्रमा बस्न बाध्य भएकी छिन् ।
बलात्कार जस्तो जघन्य घटनाका आरोपित गाउँमा खुलेआम हिँड्नुका साथै आफूलाई धम्की दिँदै आएको हुँदा आफू गाउँमा बस्न नसकेको पीडित बालिकाले इन्सेक जिल्ला प्रतिनिधिलाई बताइन् ।
१७ वर्षीया पीडित बालिकालाई वडा अध्यक्ष कुमालले गत वैशाख २४ गते बलात्कार गरेको पीडितको भनाई छ ।
पीडित परिवारले वडाअध्यक्ष कुमालविरूद्ध वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोसम्बन्धी समाचार वैशाख २९ गतेको इन्सेक अनलाइनमा समेत प्रकाशित छ ।
घटनाका आरोपितविरूद्ध उजुरी दिएपनि प्रहरीले गिरफ्तार नगरेको हुँदा आफू असुरक्षित भएको पीडित युवतीले बताइन् ।
घटनापछि पीडित हाल एक हिंसा पीडितहरूको सेवा केन्द्रमा संरक्षण लिई बस्दै आएकी छिन् । कुमाललाई प्रहरीले गिरफ्तार नगरेसम्म आपूm गाउँ जान नसक्ने पीडित बालिकाको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिविक्रम शाहले वडा अध्यक्ष कुमाललाई गिरफ्तार गर्न पटकपटक गाउँमा गएपनि सफल नभएको बताए ।
‘हामी पुग्नुभन्दा पनि पहिल्यै सूचना पुग्दो रहेछ र उनी भाग्दा रहेछन् ।’–एसपी शाहले भने–‘कुनै पनि हालतमा आरोपितलाई गिरफ्तार गरी कारवाही गर्छौँ ।’
बलात्कारको आरोप लागेपछि वडा अध्यक्ष कुमालले अध्यक्षको जिम्मेवारी वडा सदस्यलाई दिएर ‘बेपत्ता’ भएको घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए । उनले प्रहरी समक्ष आत्मसमर्पण गर्न कुमाललाई पटकपटक आग्रह गरेको समेत बताए ।