INSEC Online

📅 २०८३ जेष्ठ २२

धनुष्टङ्कारविरूद्ध दिइने टिटी खोप अभाव

जिल्लाका सरकारी अस्पताल, निजी अस्पतालमा समेत एक हप्तादेखि धनुष्टङ्कार विरूद्ध दिइने टिटी खोप सकिएको अस्पतालहरूले जनाएका छन ।

उत्पादनमा कमी आएकाले दशै वटा स्थानीय तहका अस्पताल, राप्ती अञ्चल अस्पताल, लमही अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टिटीको अभाव भएको राप्ती अञ्चल अस्पताल तुलसीपुरका फार्मेसी इञ्चार्ज सुलभ अधिकारीले बताए ।

घाँस काट्ने क्रममा कात्तिक ७ गते हसियाले हात काटिएपछि टिटी खोप लगाउन चिराघाट स्वास्थ्य चौकी पुगेका शान्तिनगर गाउँपालिका-३ का ४५ वर्षीय हस्तवीर खड्काले अञ्चल अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजी अस्पतालसमेतमा खोप नपाएपछि भारतको रुपैडिहा गएर कात्तिक ८ गते खोप लगाएको बताए । १६ रुपिँया पर्ने खोपलाई आउन जान गरेर २ हजार रुपिँया खर्च भएको खड्काले गुनासो गरे ।

त्यसैगरी घोराही उमनपा-१२ का ३८ वर्षीय दिलबहादुर कामीले स्थानीय अस्पतालमा टिटी खोप नपाइएपछि औषधि पर्खेर बसेको बताए । टिटी खोप घाउ भएको २४ घण्टा भित्र लगाइसक्नु पर्छ ।

गर्भवती महिलालाई समेत दिइने टिटी एक वर्षयता सरकारले भ्यागुत्ते र टिटी मिलाएर डिटी खोप दिन थालेकाले टिटीको आयात नै कम हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत केशवराज पण्डितले बताए । उनले छिट्टै टिटीको आपूर्ति हुने समेत बताए ।

अन्य

भिडियो