‘दिनभरी पुरुषहरूसँग खट्यो । कामको हिसाव गर्दा उनीहरूलाई भन्दा भार पर्ने काम गर्नु पर्छ । उनीहरूले सावेलले उठाएर बालुवा गिट्टी हालिदिन्छन् । हामीले ३ तलामाथि पुर्याउनु पर्छ । तर, ज्याला भने उनीहरूको भन्दा आधा मात्र पाइन्छ ।’–रामेछापको सदरमुकाम मन्थलीमा घर ढलालानको लागि बालुवा बोक्दै गरेकी मन्थली नगरपालिका–२ कि रिता दर्जीले भनिन् ।
रिताको मात्रै हैन, मन्थली नगरपालिका–५ सोभा बासेलको पनि कथा उस्तै छ । सरकारी कार्यालयको ढलानको लागि सामान बोकिरहेकी उनले भनिन्–‘दिनभर सँगै काम गर्यो । बेलुका पुरुषहरूले १ हजार ५ सय रुपियाँ ज्याला थाप्छन् । हाम्रो हातमा जम्मा ७ सय ५० मात्र ।’
समान कामको लागि समान ज्यालाको कानुनी अधिकार भएपनि अहिले पनि महिलाहरूले पुरुष सरह ज्याला पाएका छैनन् ।
जिल्लाका कृषि मजदुर तथा निर्माणको काम र निर्माण व्यवसायीमार्फत काम गर्ने महिलाहरूले पुरुषको तुलनामा आधा मात्र ज्याला पाउने गरेका छन् ।
शारीरिक श्रमको क्षेत्रमा काम गर्ने महिलाहरूको जिल्लाभर नै पुरुषको तुलनामा झण्डै आधा कम ज्याला मजदुरी छ ।
आफूहरूले समान ज्याला पाउनु पर्ने माग राख्दा काम नै नपाइने भएकाले कम ज्यालामा नै काम गर्न बाध्य भएको रामेछाप नगरपालिकाकी कान्छी तामाङ बताउँछिन् ।
‘काम नगरी गुजारा चल्दैन । धेरै ज्याला माग्दा काम नै पाइँदैन । अनि कम ज्यालामा काम नगरेर के गर्नु ?’–उनले भनिन् ।