सडक डिभिजन कार्यालय सिन्धुलीको लापरबाहीका कारण रामेछापको सदरमुकाम मन्थलीको सडक अस्तव्यस्त भएको स्थानीयले आरोप लगाएका छन् । सडक भत्काएर छाडेपछि सडकमा उडेको धुलोको कारण सर्वसाधारणको स्वास्थ्यमा नराम्रो प्रभावसमेत परेको छ ।
मन्थलीको रणजोर खोला पुलदेखि विपीचोकसम्मको सडक विस्तार गर्ने भन्दै सडक डिभिजन कार्यालयले असारको पहिलो हप्ता भत्काएको थियो ।
असारको पहिलो हप्ता सडक भत्काएपछि सडक डिभिजन कार्यालयले सडकको काम त्यतिकै अलपत्र छाडेको छ । सडक भत्काउँदा पुरानो नाली तथा पिच गरिएको सडक पुरिएको छ । पुरिएको सडकमा धुलो उड्दा बाटोमा हिँड्नै नहुने अवस्था आएको स्थानीय शिवध्वज कार्कीले बताए ।
सडक भत्काएको ६ महिना बित्दा पनि निर्माणको काम सुरू नगर्दा स्थानीयको जनजीवन अस्तव्यस्त भएको कार्कीले बताए ।
‘बाटो भत्काएर अलपत्र पारेको छ । नालीको पानी सडकमा बग्छ । सडकबाट वारपार गर्न पनि नसकिने अवस्था छ । सडक डिभिजनलाई भनियो । मेयरलाई पनि भनियो । तर, सडकको काम अघि बढेन ।’–उनले भने ।
रणजोर खोला पुलदेखि मदन भण्डारी चोकसम्म सडक भत्काइँदा सो क्षेत्र मात्र हैन मन्थली बजार क्षेत्रलाई नै सो बाटोले धुलाम्य पारेको छ ।
हिलोबाट जाने ट्याक्टर तथा अन्य यातायातका साधनले बजार क्षेत्रमा लैजाने हिलोल मन्थली बजार नै कुरूप बनाएको छ । यसैगरी वर्षाको भलले ल्याएको माटोको व्यवस्थापन हुन नसक्दा अहिले सो माटोको धुलो उडेर मन्थली बजार अस्तव्यस्त बनेको छ ।
सडक भत्काएर हिँडेका सडकका कर्मचारीहरू पुनः मन्थलीमा फर्किएका छैनन् । रामेछापमा सडकको कार्यालय नहुँदा स्थानीयले गुनासो गर्ने ठाउँ समेत पाएका छैनन् ।
सडक निर्माणको काम सडक डिभिनज कार्यालयको भएको भन्दै मन्थली नगरपालिका यस कामबाट पन्छिएको छ ।
धुलोका कारण मन्थलीमा दम, खोकी, ज्वरोलागयतका रोगका बिरामीहरू बढ्दै गएको तामाकोसी सहकारी अस्पताका निर्देशक डाक्टर सुमन कर्माचार्यले बताए ।