INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमता भन्दा चार गुणा कैदीबन्दी एकै ठाउँ बस्दा स्वास्थ्यमा समस्या

२५ जना कैदीबन्दी राख्ने क्षमता रहेको ‘घ’ श्रेणीको जिल्ला कारागार बागलुङमा क्षमता भन्दा चारगुणा बढी कैदीबन्दी भएपछि स्वास्थ्यमा समस्या देखिएको छ ।

१८ जना पुरूष र सात जना महिला कैदीबन्दी गरी २५ जनाको क्षमता रहेको यस कारागारमा हाल ९८ जना कैदीबन्दी रहेका छन् ।

क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी एकै ठाउँमा राख्दा उनीहरूको स्वास्थ्यमा समस्या देखिएको छ । ‘हामीसँग दोस्रो विकल्प नै छैन एक जनालाई मौसमी रुघाखोकी, ज्वरोको सङ्क्रमण भयो भने त्यो प्रायलाई सर्छ ।’–कारागारका निमित्त प्रमुख दिपक शर्माले भने–‘चाहेर पनि समस्या समधान हुन सक्ने अवस्था छैन ।’

साँघुरो ठाउँमा क्षमताभन्दा बढी कैदीबन्दी एकै ठाउँमा राख्नुपर्दा उनीहरूमा श्वासप्रस्वासमा समेत समस्या देखिने गरेको कारागार बागलुङका हेल्थ असिष्टेण्ट आशिष सापकोटाले बताए ।

सापकोटाका अनुसार मौसम परिर्वतन हुने समयमा अझै बढी समस्या हुने गरेको छ । ‘मौसम परिर्वतन हुँदा रूघाखोकी जस्ता समस्या देखिन्छन् ।’–सापकोटाले भने–‘आज एक जनामा देखिएको समस्या भोलिपल्ट नियन्त्रण गर्नै गाह्रो हुने गरेर फैलिइसक्छ ।’

कारागारको क्षमता २५ जनाको भएको हुनाले औषधि उपचार खर्च पनि २५ जनालाई आउने हुनाले सोही खर्चमा ९८ जनाको उपचार गर्नुपर्दा बन्दीहरूलाई सामान्य औषधि उपलब्ध गराउन पनि मुस्किल हुने गरेको सापकोटाले बताए ।

हाल कारागारमा ८५ जना पुरुष र १२ जना महिला तथा एक जना नाबालक रहेका निमित्त प्रमुख शर्माले बताए ।

अन्य

भिडियो