विनाशकारी भूकम्प बाट घरबारविहीन भएका भूकम्प पीडितहरूले सरकारबाट घर पुनर्निर्माणका लागि प्रदान गरिएको भनिएको राहत आफूहरूले नपाएको भन्दै भूकम्प पीडितहरूले गुनासो गरे ।
इन्सेक केन्द्रिय कार्यालयद्वारा असोज २ गते आयोजित भूकम्पपछिको पुनर्निर्माणको अवस्थाको सम्बन्धमा सिन्धुपाल्चोकका भूकम्प पीडित तथा नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा भूकम्प पीडितहरूले राहत नपाएको गुनासो गरेका हुन् ।
कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नपा–५ की कमला गिरीले आफ्नो घर ०७२ वैशाखमा आएको भूकम्पले पूर्ण रूपमा ध्वस्त हुँदा पनि सरकारले दिने भनिएको राहत नपाएको बताइन् ।
स्याउलेकी गोमा अधिकारीले पहिलो पटकमा राहत नपाएपछि पुनः गुनासोमा निवेदन दर्ता गराउँदा समेत आफ्नो गुनासो सम्बोधन नभएको भन्दै आक्रोश पोखिन् ।
कार्यक्रममा नेपाल बार इकाइका सशिनाथ आचार्यले भूकम्पपछि अपराधका घटनामा बृद्धि भएको बताए ।
नेपाल पत्रकार माहासङ्घका पुर्व अध्यक्ष युवराज पुरीले भूकम्प पीडितले राहत पाउने प्रक्रिया झञ्झटिलो प्रक्रिया भएको बताए ।
दलित अधिकारकर्मी सागर परियारले पुनर्निर्माणको राहत वितरणमा पनि जातीय विभेद हुने गरेको घटनाहरू उजागर गरेको थिए ।
अन्तरक्रिया कार्यक्रमअघि इन्सेक केन्द्रिय कार्यालय बहस तथा पैरवी कार्यक्रमकी व्यवस्थापक सम्झा श्रेष्ठ, प्रलेख तथा प्रसार कार्यक्रमका रमेशप्रसाद तिमल्सिना र इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले पुनर्निर्माणसम्बन्धी काम गर्ने विभिन्न सरकारी निकाय, नेपाल रेडक्रस सोसाइटीलगायतका निकायमा पुगी पुनर्निर्माणको अवस्थाबारे जानकारी लिएका थिए ।
