सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष (उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री) उपेन्द्र यादवलाई कालो झण्डा देखाउन खोज्ने स्वतन्त्र मधेस गठबन्धनका जिल्ला संयोजक राजविराज नपा–७ का ४५ वर्षीय सुरेन्द्रप्रसाद शर्मासहित ६ जनालाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ ।
राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका यादवलाई विभिन्न स्थानमा कालो झण्डा देखाएर विरोध जनाउन खोज्ने शर्मासहित राजविराज नपा–५ का २६ वर्षीय भुपेन्द्रप्रसाद दास, कञ्चनरुप नपा–१ का २५ वर्षीय अनिल पञ्जियार, छिन्नमस्ता गाउँपालिका–४ का ५३ वर्षीय धर्मदेव यादव, हनुमाननगर कङ्कालिनी नपा–११ का ३४ वर्षीय गुलाब मण्डल र सोही ठाउँका २४ वर्षीय जिवन लौगीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।
सिके राउतको घर भएको सप्तरीमा यादवले कार्यक्रम गर्न लागेको थाहा पाएपछि गठबन्धनका कार्यकर्ताहरूले विभिन्न स्थानमा कालो झण्डा देखाएर विरोध जनाएका छन् । गठबन्धनका स्थानीय नेता तथा कार्यकर्ताले कालो झन्डा देखाएर नाराबाजी गर्ने प्रयासका क्रममा उनीहरू गिरफ्तार भएका हुन् । सम्भावित तनावलाई ध्यानमा राखेर चोकचोकमा प्रहरी परिचालन गरिएको थियो ।
राजपा नेपालका जिल्ला उपाध्यक्ष गोपाल झा र क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवसहित विभिन्न दलबाट फोरममा प्रवेश गर्न लागेका कार्यकर्तालाई स्वागत गर्न राजविराज पुगेका यादवले फोरम नेपालले संविधान दिवसलाई कालो दिवसका रूपमा नमनाउने र संविधानको समर्थनमा हुने कार्यक्रममा समेत सहभागी नहुने बताए ।