INSEC Online

📅 २०८३ जेष्ठ २१

महामारी क्षेत्र घोषणा गदै विद्यालय बन्द भएपछि १२ हजार विद्यार्थीको पढाई अवरुद्ध

स्वाइन फ्लु र हङकङ फ्लुको बिरामी फेला परेपछि सप्तरीको कञ्चनरुप नगरपालिकालाई महामारीग्रस्त क्षेत्र घोषणा गर्दै भदौ ३१ गतेदेखि असोज २ गतेसम्मका लागि विद्यालय बन्द गरिएपछि १२ हजार विद्यार्थीको पढाइ अवरुद्ध भएको छ ।

विद्यालय बन्दले ३० सामुदायिक र २४ नीजि तथा संस्थागत विद्यालयका १२ हजार भन्दा बढी विद्यार्थीको पढाई अवरुद्ध गर्नु परेको शिक्षा शाखा प्रमुख दामोदर ठाकुरले बताए ।

नगरपालिका क्षेत्रमा तीन बालक र एक महिलाको शङ्कास्पद मृत्यु भएलगत्तै कञ्चनरुप नपा–७ बलुवाका ६० वर्षीय हरिलाल साहमा ‘स्वाइन फ्लु’ को सङ्क्रमण देखिएपछि तथा रुघाखोकीका बिरामीको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले महामारीग्रस्त क्षेत्र घोषणा गरी विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सविनराज ढकालले बताए ।

कञ्चनरुप नगर कार्यपालिकाको आपतकालिन बैठकले स्वास्थ्यकर्मीहरूलाई बिदाका दिनसमेत परिचालित हुन निर्देशन दिँदै प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुप २४ घण्टा नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

पर्याप्त औषधिसहित तीन जना स्वास्थ्यकर्मीको टोलीलाई प्रत्येक वडाको घरदैलोमा खटाइएको जानकारी दिँदै नगर प्रमुख बसन्तकुमार मिश्रले स्वास्थ्यकर्मीलाई १२ वटै वडामा परिचालित गर्नुका साथै स्वाइन फ्लुको सङ्क्रमण भेटिएको वडा नम्बर ७ र शङ्कास्पद मृत्यु भएको वडा नम्बर ४ सहित वडा नम्बर ११ मा स्वास्थ्य शिविर नै सञ्चालन गरेको जनाए । स्वास्थ्यकर्मी अपुग भएपछि कञ्चनरुपले अन्यत्र स्वास्थ्य केन्द्र र चौकीबाट सहयोग लिएको छ ।

भिडभाडमा भारइसको सङ्क्रमण तीव्र रूपमा फैलिन सक्ने भएकोले विद्यालय बन्द गर्दै सार्वजनिक कार्यक्रमहरु रोक्ने, भाइरसको सङ्क्रमण तथा त्यसबाट बच्ने उपायका बारेमा माइकिङ्ग गर्ने, मास्क प्रयोग गर्न, हात नमिलाउने जस्ता चेतनामूलक सन्देशहरु प्रवाह गरिएको स्वास्थ्य शाखा प्रमुख डम्बरप्रसाद गुप्ताले बताए ।

भारतको झारखण्डस्थित बाबाधामबाट फर्किएकाहरूमा सङ्क्रमण देखिएपछि बाबाधाम जानेहरूलाई स्वास्थ्य सल्लाह दिने गरेको र फर्किनेहरूको परीक्षण गरेर मात्र जिल्ला प्रवेश गराउने गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

यसका लागि कुनौली र कोशी व्यारेजमा हेल्प डेस्क राखिएको छ । ‘स्वाइन फ्लु’ को सङ्क्रमण देखिएपछि आपतकालिन बैठक बसेको जिल्ला दैवी प्रकोप उद्दार समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने, उपचारको व्यवस्था मिलाउने र भारतीय नाकामा हेल्प डेस्क राख्ने निर्णय गरेको हो ।

६ जनामा हङकङ फ्लु फेला परेको हनुमाननगर कङ्कालिनी नगरपालिकाले सरसफाइमा ध्यान दिँदै अस्थायी शौचालय तयार गरिरहेको र स्वास्थ्यकर्मीहरूलाई शतर्क गराएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादवले बताए ।

यसैगरी शङ्कास्पद मृत्यु भएको कञ्चनरुप नपा–४ सँगै टासिएको सप्तकोशी नगरपालिकाको विपद व्यवस्थापन समितिले भदौ ३० गते आपतकालिन बैठक बसी प्रत्येक वडाका विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, स्वास्थ्य संस्थाहरु विदामा पनि खुल्ला राख्ने, चेतनामूलक पर्चा वितरण र माइकिङ्ग गर्ने, चेतनामूलक गोष्ठी गर्ने निर्णय गर्दै शतर्क रहन नगरवासीमा आग्रह गरेको छ ।

अन्य

भिडियो