खोजतलास मिडिया प्रालिद्वारा सञ्चालित खोजतलास साप्ताहिक तथा खोजतलास न्युज डटकमका अध्यक्ष तथा प्रधान सम्पादक राजु बस्नेतलाई समाचार प्रकाशन गरेको आरोपमा प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको छ । गोदावरी नगरपालिका-१२, ठेचोस्थित निवासबाटै बस्नेतलाई गिरफ्तार गरिएको जनाइएको छ ।
बस्नेतले दृष्टिन्युज डटकममा प्रकाशित समाचार आफ्नो पत्रिका तथा अनलाइनमा साभार गरेका थिए । समाचारमा ‘जनप्रतिनिधि कि जग्गा दलाल !‘ भन्ने हेडलाइन राखिएको थियो ।
‘नयाँ मुलुकी ऐन अनुसार अब समाचार लेखे बापत जेल सजाय भोग्नु पर्ने अवस्था आएको हो कि भन्ने आभास भएको छ ।’-नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलले भने ।
सुशील खनालको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धानको सिलसिलामा प्रधान सम्पादक बस्नेतलाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी रबिन्द्रबहादुर धानुकले जानकारी दिए ।
विद्युतीय कारोवार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धानको सिलसिलामा प्रधानसम्पादक बस्नेतलाई गिरफ्तार गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट भदौ २४ गते पक्राउ पूर्जी आदेश जारी भएको हुँदा बस्नेतलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
उनलाई हाल सरकारी वकिलको कार्यालय ललितपुरमा बयान लिन सोही दिन चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।