चुनावी कार्यक्रमको सुरक्षार्थ खटिएका तुलसीपुर उमनपा–१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको हत्या आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले भदौ २२ गते दाङ ल्याएर कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ ।
ज्यानमार्ने उद्योगसम्बन्धव् मुद्दामा भोजपुर जिल्ला अदालतले ६० हजार धरौटीमा भदौ २० गते छोड्ने आदेश दिएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरी उनलाई दुई दिनपछि दाङ ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णहरी शर्माले जानकारी दिए ।
प्रहरीले भदौ २४ गते जिल्ला अदालतमा पेश गर्ने जनाएको छ । ०७४ मङ्सिर १२ गते तुलसीपुरमा नेपाली काङ्ग्रेसले आयोजना गरेको चुनावी सभाको सुरक्षार्थ खटिएका चौधरी अज्ञात समूहले फालेको बम विष्फोटबाट गम्भीर घाइते भई उपचारको क्रममा कोहलपुर शिक्षण अस्पतालमा पुर्याइएका चौधरीको मृत्यु १३ गते बिहान भएको थियो । घटनामा दुई म्यादी प्रहरीसहित नौ जना घाइते भएका थिए ।
मानव अधिकार सञ्जालद्वारा हिरासतमै भेटघाट
यसैबीच इन्सेकसहित मानव अधिकार सञ्जाल दाङले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका प्रकाण्डसँग भदौ २३ गते हिरासतमै भेटघाट गरेको छ ।
सञ्जालका संयोजक केशवकुमार शर्माको नेतृत्वमा गएको अधिकारकर्मीहरूको टोलीले भेटेपछि विज्ञप्ति जारी गरी प्रहरीले मानव अधिकारका दृष्टिले प्रकाण्डप्रति सन्तोषजनक व्यवहार गरेको पाइएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा ‘अदालतको आदेशपछि पनि उनको गिरफ्तारीको श्रृङ्खला नरोकिएको सन्दर्भमा नागरिकप्रति प्रत्याभूत गर्नुपर्ने न्युनतम मानव अधिकारको सम्मान गर्न राज्यसँग हार्दिक अपिल गर्दछौँ ।’–भनिएको छ । भेटमा प्रकाण्डले राज्यले राजनीतिक विषयलाई अपराधिकरण गरेर आफूलाई अनावश्यक दुःख दिएको बताए ।