१६ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई बालविवाह गरी बलात्कार गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका–३ बेल्ही चपेनाका १९ वर्षीय निरञ्जन साहलाई भदौ १९ गते गिरफ्तार गरेको छ ।
पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी उजुरी दर्ता गरेर अनुसन्धान थालिएको एसपी राजेन्द्र विष्टले बताए । आरोपितले उनका घरपरिवारका सदस्यहरूको सहयोगमा साउन २७ गते राजविराजबाट पीडितलाई ललाईफकाई अपहरण गरी बलात्कार गरेको पीडितकी आमाले बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भदौ १९ गते गरिएको छ ।
कक्षा १० मा सँगै अध्ययनरत आफूहरूबीच प्रेम सम्बन्ध भई आपसी सल्लाहमा नै साउन २७ गतेदेखि घुम्न गएको भन्दै आरोपितले पीडितकी आमाद्वारा दायर उजुरी बनावटी र काल्पनिक भएको बताए ।