चाडबाड नजिकिए पनि तनहुँको विभिन्न बजार क्षेत्रमा नियमन निकायले बजार अनुगमन नगर्दा जिल्लाका उपभोक्ताहरू मारमा परेका छन् ।
विगतमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा बजार अनुगमन हुने गरेकोमा हाल स्थानीय तहमा अनुगमनको छुट्टै संयन्त्र गठन गरिएको भएपनि बजार अनुगमन भने प्रभावकारी र निरन्तर हुन सकेको छैन ।
नेपालीहरूको मुख्य पर्व तिज र दसैँ नजिकिए पनि बजार अनुगमन नहुँदा उपभोक्ता मारमा परेको उपभोक्ता हित संरक्षण मञ्च तनहुँका अध्यक्ष सिताराम बजगाईले बताए । स्थानीय तहमा गठन गरिएको अनुगमन संयन्त्रमा उपभोक्ता तथा अधिकारकर्मीहरूको प्रतिनिधित्व समेत नगराइँदा अनुगमन कार्य प्रभावकारी हुन नसकेको बजगाईले बताए । अनुगमनको अभावमा बजारमा गुणस्तरहीन वस्तु विक्री वितरणमा रोक लाग्न नसकेको र उपभोक्ता पनि सोही वस्तु उपभोग गर्न बाध्य भएको बजगाईंको भनाई छ ।
राष्ट्रिय उपभोक्ता मञ्च, तनहुँका अध्यक्ष खेमराज अधिकारीले पनि अनुगमन कार्य प्रभावकारी नहुँदा चाडबाडमा उपभोक्ता ठगिन सक्ने बताए । विगतमा जिल्ला प्रशासन कार्यालयको संयोजनमा निरन्तर बजार अनुगमन गरिँदै आएपनि अहिले स्थानीय तहले मञ्चको खोजी नगरेको हुँदा अनुगमन कार्यमा सहभागी नभएको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले सबै स्थानीय तहका अनुगमन संयन्त्रलाई बजार अनुगमनलाई तीव्रता दिन अनुरोध गरिएको बताए । अहिले अनुगमनको सबै अधिकार स्थानीय तहमा गएको हुँदा अब स्थानीय तहमार्फत नै अनुगमनलाई व्यवस्थित पारिने उनले बताए ।
ब्यास नगरपालिकाकी उपमेयर एवम् बजार अनुगमन समितिकी संयोजक मिरा जोशीले बजार अनुगमन गर्ने भन्ने छलफल भएपनि व्यवस्थित गर्न नसकिएको बताइन् । दक्ष जनशक्ति र कर्मचारी नहुँदा पनि अनुमगन प्रभावकारी बनाउन नसकिएको भन्दै उनले अब तिज र दसैँ पर्वलाई लक्षित गरी अनुगमन प्रभावकारी बनाइने बताइन् ।