INSEC Online

📅 २०८३ जेष्ठ २१

गरिबीका कारण विद्यालय छोड्न बाध्य छन् ढोरपाटनका विद्यार्थी

वर्षभरि काम नगरे खान नपुग्ने समस्याका कारण बागलुङको पश्चिम ढोरपाटनका बालबालिकाहरू सामान्य काम गर्न सक्ने भएपछि विद्यालय छोड्छन् । सानो कक्षामा पढ्ने विद्यार्थीहरू उल्लेख्य भएपनि पाँच कक्षाभन्दा माथि पुगेपछि बालबालिकाको सङ्ख्या घट्ने गरेको शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्कले देखाउँछ ।

अभिभावकसँगै मेलापात गर्ने, गाईवस्तु चराउने र घर कुर्ने यहाँका अधिकांश बालबालिकाहरूको दैनिकी हुने गरेको छ । मेलापातको काममा अल्मल्याउने र उनीहरूलाई कुरेर बस्ने कोही नहुने भएपछि साना उमेरका बालबालिकालाई मात्र अभिभावकले विद्यालय पठाउने गरेको पाइन्छ ।

वर्षैभरि मेलापातमा काम गरेपनि ढोरपाटन क्षेत्रको मुख्य खेती आलु र गहुँ हो । त्यही आलु र गहुँले पनि पेटभर खान नपुग्ने भएपछि यहाँका बालबालिका, युवायुवती, अधवैँशे र प्रौढहरू पनि अधिकांश समय मेलापातमै खर्चिन्छन् । उमेर अनुसारका कार्य विभाजन गरेर काम गर्नु यहाँका बालबालिका र तिनका अभिभावकको बाध्यता जस्तै बनेको छ ।

समन्वय इकाईका अनुसार अघिल्लो शैक्षिक सत्रमा बागलुङ जिल्लाका २ सय ५० जना बालबालिकाले बिचैमा विद्यालय छाडेका छन् । तथ्याङकमा देखिएका यि बालबालिकामध्ये अधिकांश बालबालिका ढोरपाटन क्षेत्रका रहेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका सूचना अधिकृत सरितादेवी शर्माले बताइन् । विद्यालय छाड्ने विद्यार्थीको तुलनामा भर्ना हुने विद्यार्थीको सङ्ख्या भने निकै न्यून छ । शर्माले ढोेरपाटन क्षेत्रमा १२ वर्षभन्दा बढी उमेरका बालबालिकालाई विद्यालयमा टिकाइराख्न निकै मुस्किल हुने गरेको बताइन् ।

ढोरपाटन नगरपालिकाका शिक्षा श्रोत व्यक्ति हरिजन पाण्डेका अनुसार सो नगरपालिकाका बोवाङ र अधिकारीचौरका अधिकांश विद्यार्थीमा अध्ययनलाई निरन्तरता नदिने समस्या रहेको छ । नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियानलाई प्राथमिकता दिने गरेको भएपनि विद्यालय बिचैमा छोड्ने विद्यार्थीको अध्ययनलाई निरन्तरता दिनका लागि विद्यालयले कुनै पहल गर्न नसकेको पाण्डले बताए ।

सोही ढोरपाटन नपा–७ मा नै रहेको ज्ञानोदय माध्यामिक विद्यालयकी शिक्षक होममाया अदैका अनुसार सानो उमेरमा विद्यालय छाडेका बालबालिका घरयासी काममा मात्र लगेका छैनन् । उनीहरूको विवाह समेत भएको छ ।

‘अलिअलि काम गर्न सक्ने भए भने यस क्षेत्रमा बालबालिकाहरू विद्यालय आउने क्रममा कमी भइहाल्छ ।’–अदैले भनिन् । केही महिना र वर्षपछि भेट्दा कतिको विवाह भएको हुन्छ । कतिका बालबच्चा समेत भइसकेका हुन्छन् । हामीले चाहेर पनि यो समस्यालाई रोक्न सकेका छैनौँ ।’ पछिल्लो केही वर्षयता सानो उमेरमा विवाह गर्नेहरूको सङ्ख्या केही घटेको भएपनि बिचैमा पढाई छाडनेहरूको सङ्ख्यामा भने कमी नआएको उनको भनाई छ । अदैका अनुसार गर्मीमा लेकमा पशु चराउन जानुपर्ने र जाडोयाममा खेतीपाती गर्नुपर्ने भन्दै कक्षा ७ मा पढदै गरेकी रचना घर्ती विद्यालय आउन छोडिन् । रचना उदाहारण मात्र भएको र उनी जस्ता धेरै विद्यार्थीहरू घरको कामले विद्यालय छोड्ने कि परिक्षामा मात्रै सम्मिलित हुने र कक्षामा गयल हुनेहरूको सङ्ख्या अत्याधिक रहेको अदैको भनाई छ ।

अपराध संहिता–२०७४ मा विवाह गर्न युवा र युवतीको उमेर कम्तीमा पनि २० वर्ष हुनैपर्ने कानुनी व्यवस्था छ । यस क्षेत्रमा यि नियम, चेतनाको कमी र गरिबीका कारण अधिकांशले कलिलैमा विवाह गर्ने गरेको ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक यामबहादुर कायत बताउँछन् ।

‘हामीले भनेको कुरा यस क्षेत्रका अभिभावक र विद्यार्थीले मानेको भए समस्या कम हुने थियो ।’–कायतले भने–‘बाहिरबाट आएर अधिकारकर्मी र कानुनको विज्ञले चेतना जगाइदिनु प¥यो ।’ बालविवाहको मात्र नभई यो क्षेत्रका अभिभावक र बालबालिकाहरूमा पढाई भन्दा घरधन्दा र पशु चौपाया प्राथमिकतामा परेको कारणले अधिकांश बालबालिकाहरू विद्यालय नआउने कायतले बताए ।

अन्य

भिडियो