पातारासी गाँउपालिका-२ का वडाध्यक्ष ४६ वर्षीय पुन्नबहादुर बोहोरालाई धारिलो हतियार प्रहार गरी आक्रमण गरेको आरोपमा कारबाहीको मागगर्दै पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
कार्यालयको काम गरिरहेका वडाध्यक्षलाई भदौ १० गते दिउँसो सामूहिक आक्रमण भएपछि उनी गम्भीर घाइते भएका हुन् । टाउको, घाँटी र आखामा चोट लागेका घाइतेको काठमाडौँस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

वडास्तरीय युवा क्लवको अध्यक्ष आफैँ हुन पाउनुपर्ने भन्दै पुरानो क्लवलाई वडा अध्यक्षले आफ्नो माग अनुसार पुनर्गठन नगरेको आरोपमा सोही ठाउँका ४२ वर्षीय पूर्णसिहं बोहोरा, २५ वर्षीय बुद्धि बोहोरा र २३ वर्षीय राजेन्द्र बोहोराले कुटपिट गरेको प्रहरी चौकी डिल्लीचौरले जनाएको छ ।
उक्त समूहले वडाध्यक्षलाई कार्यालय बाहिर बोलाएर अलि पर जाँउ भन्दै धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश केसीले जानकारी दिए ।
वडाध्यक्षलाई कुटपिट गर्ने तीनै जना आरोपितलाई तत्काल गिरफ्तार गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा भदौ ११ गते किटानी उजुरी दर्ता गरिएको छ । घटनापछि फरार आरोपितहरूको खोजी भइहेको इन्स्पेक्टर केसीले बताए ।
घटनामा गम्भीर घाइते भएका वडाध्यक्षको न्यूरो अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । घाइतेको प्राथमिक उपचार कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा गरी थप उपचारका लागि प्रतिष्ठानले भदौ ११ गते रिफर गरेपछि उनी न्यूरो अस्पताल भर्ना भएका हुन् ।
उनको टाउकोमा चोट लागेको आफन्त अम्मर बिष्टले बताए । उनका अनुसार घाँटी र आँखामा पनि चोट लागेको छ । उनको स्वास्थ अवस्था सुधारोन्मुख भएपनि चिकित्सकको सल्लाह अनुसार १४ दिनसम्म अस्पतालमै रहनु आवश्यक छ । वडाध्यक्ष कुटिएर अस्पताल भर्ना भएपछि वडा कार्यालयको दैनिक कामकाजमा असहज भएको छ ।