२० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-५ का २७ वर्षीय मनोजकुमार राम, २६ वर्षीय कृष्णनारायण साह, २० वर्षीय विक्रम सरदार र शम्भुनाथ नपा-११ का २४ वर्षीय हिरालाल साहलाई भदौ ११ गते गिरफ्तार गरेको छ ।
पीडितले भदौ ११ गते दिएको मौखिक उजुरीका आधारमा चार जना आरोपितलाई गिरफ्तार गरिएको र अन्य आरोपितहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्टले बताए ।
एसपी विष्टका अनुसार गिरफ्तार गरिएका दुई जना घटनामा प्रत्यक्ष संलग्न र दुई जना सहयोगीका रूपमा संलग्न थिए ।
शम्भुनाथ नपा-१२ स्थित अर्नाहामा लागेको रक्षाबन्धनको मेलाका लागि भदौ १० गते आठ जना गाउँका दाजुभाइ र साथीहरूसँग साइकलमा गएकी पीडित र साथीहरू पानी परेपछि तितरवितर भएका थिए । राति अबेलासम्म पानी नरोकिएपछि मेलाबाट घर फर्कँदै गरेकी उनी सवार साइकल शम्भुनाथ नपा-११ स्थित बसन्तपुरमा पुगेपछि मादक पदार्थ सेवन गरेका ८ देखि १० जनाको समूहले रोकेर अपहरण गरी सामूहिक बलात्कार गरेको पीडित युवतीको आरोप छ ।
प्रतिवाद गरेका उनका साथी साइकल चालकलाई आरोपितहरूले बेल्ट, लाठी र मुडकीले निर्घात कुटपिट गरेर साइकल र मोबाइल खोसेको पीडित युवतीले बताइन् । बिहान पाँच बजे उज्यालो हुन थालेपछि आरोपितहरूले छाडेको पीडितले बताइन् ।
पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भदौ ११ गते गरिएको छ ।