भीमदत्त नपा-२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात हत्या गरेको आरोपमा भीमदत्त नपा-१९ का ४१ वर्षीय दिलिप सिंह विष्टलाई प्रहरीले गिरफ्तार गरी भदौ ४ गते पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले सार्वजनिक गरेको छ ।

घटनाको २५ औँ दिन मानसिक सन्तुलन ठिक नभएका विष्टलाई गिरफ्तार गरी सार्वजनिक गरेपछि वास्तविक दोषीलाई प्रहरीले उम्काउन खोजेको भन्दै पीडित परिवार र स्थानियबासीहरूले भदौ ५ गते नाराबाजी गर्दै महेन्द्रनगर बजार बन्दको आह्वान गरेका छन् ।
पीडित पक्षले मानसिक सन्तुलन नभएको व्यक्तिलाई गिरफ्तार गरी सार्वजनिक गरेर वास्तविक दोषीलाई उम्काउन खोजेको आरोप लगाएको हो ।
प्रदर्शनपछि महेन्द्रनगर बजार पूर्ण रूपमा बन्द रहेको छ भने सार्वजनिक यातायात, शिक्षण संस्थाहरू सञ्चालन हुन सकेका छैनन् ।
भीमदत्त नपा-२ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तलाई साउन ११ गते अज्ञात पक्षले बलात्कारपश्चात हत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।
साउन १० गते मध्यान्ह १२ बजेतिर घरबाट साथीको घर जाने भनेर निस्केकी निर्मलाको शव भीमदत्त नपा- १८ उखुवारीमा साउन ११ गते फेला परेको थियो ।