INSEC Online

📅 २०८३ जेष्ठ २१

जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले वंशजको नागरिकता पाउँछन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबैभन्दा बढी विकास प्रदेश २ मा नै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश २ को प्रदेश सभा बैठकलाई भदौ २ गते सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरूलाई अबलम्बन गर्ने बताए ।

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले वंशजको नागरिकता पाउने बताए । यसको लागि चाँडै नै नियम लागु हुने जानकारी दिए । उनले बाबु वा आमामध्ये एकजना कसैको नेपाली नागरिकता भए उसका सन्तानले नागरिकता पाउने कानुनी व्यवस्था भएको समेत जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमान स्थल निर्माण, पूर्वपश्चिम रेल्वे, फास्ट ट्रयाक निर्माण, औद्योगिक ग्राम स्थापना, धार्मिक स्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्व विद्यालयको स्थापना, सिंचाईका पूर्वाधारहरूको विकास, मल कारखानाको स्थापना, जनता आवास योजना, तराईमा प्रत्येक वर्ष हुने आगलागीबाट बचाउनको लागि टिनको छाना निर्माण लगायतका विकास निर्माणका योजनाहरू विस्तारको गृहकार्यहरू अगाडि बढाइएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले युवाहरूलाई वैदेशिक रोजगारीमा जान रोक्नको लागि आवश्यक रोजगारीका अवसरहरू सृजना गरिने बताउँदै प्रदेश २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएको हुँदा परिवर्तन ल्याउनको लागि अब बिलम्ब गर्न नहुने बताए ।

उनले प्रदेश २ ले कुल जिडिपीको १६.२ प्रतिशत योगदान मात्र पु¥याई रहेकामा यो प्रतिशत बढाउन उचित सिञ्चाई र कृषिको आधुनिकीकरण गरिनुपर्ने बताए । उनले तराई मधेसमा चुरे संरक्षण गर्न नसकेका कारण यहाँका उर्वर भूमिहरू मरूभुमिकरणतर्फ उन्मुख भएको हुँदा यसलाई रोक्नु पर्ने आवश्यक्ता रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने–‘रेलगाडी, कलकत्ता बन्दरगाह जाने पानी जहाज सबै यहि प्रदेश भएर कुद्ने छ ।’ प्रधानमन्त्री ओलीले जनता आवास योजना अन्तर्गत प्रदेश २ को ८ जिल्लामा १–१ हजारको दरले ८ हजार घर निर्माण गरिने र आगलागीबाट जोगाउनको लागि खरको छाना हटाएर टिनको छाना लगाउने योजना रहेको जानकारी दिए ।

उनले यस प्रदेशमा एक विश्व विद्यालयको स्थापना तथा राजविराजमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा एक मेडिकल कलेजको स्थापना गर्ने सोच रहेको बताए ।

प्रधानमन्त्री ओलीले सङ्घीय सरकार कुनै किसिमले पनि विभेदकारी नरहेको बताउँदै प्रदेश सरकारले योजना बनाएर दिए कार्यन्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले राजनीतिलाई हारजितका रूपमा नलिई राष्ट्र निर्माणको एउटा माध्यम बनाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रदेश सभामुख सरोज यादवको अध्यक्षतामा भएको प्रदेश २ को प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले १ घण्टा ३८ मिनेटको समय लिएर सम्बोधन गरेका थिए ।

यसैबीच प्रदेश २ को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनलाई राष्ट्रिय जनता पार्टीका तीन जना प्रदेश सभा सदस्यले बहिष्कार गरेका छन् ।

वहिष्कार गर्नेहरूमा उपेन्द्र महतो, बिक्की यादव र गौरीनारायण साह रहेका छन् । उनीहरूले अहिले पनि मधेस आन्दोलनका क्रममा विभिन्न मुद्दाहरू लगाएर जेलमा थुनेर राखेको, रेशम चौधरीको मुद्दा खारेज नगरेको भन्दै प्रधानमन्त्रीको सम्बोधनलाई वहिष्कार गरेको बताए ।

अन्य

भिडियो