उपचारको क्रममा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्तहरूको आन्दोलनका कारण चौरजहारी अस्पतालको सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् ।
साउन १३ गते भेरी नगरपालिका–१३, कुदु जाजरकोटकी २९ वर्षीया यशोदा मल्ल रोकायको मृत्यु भएपछि सोही दिनदेखि पीडित पक्षको आन्दोलनले गर्दा अस्पतालमा उपचार सेवा बन्द रहेको छ ।
डक्टरको लापरवाहीका कारण यशोदाको मृत्यु भएको भन्दै त्यसको उचित क्षतिपूर्ति पाउनुपर्ने र घटनाको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै उनीहरू आन्दोलित छन् ।
अस्पताल प्रशासन मृगौलामा सङ्क्रमण भएको र उपचार गर्दागर्दै उनको मृत्यु भएको भन्दै त्यसमाथि छानबिन गर्न सहमत भएको छ । क्षतिपूर्तिको सन्दर्भमा भने अस्पताल सहमत नहुँदा उनीहरूले यशोदाको शवसमेत बुझेका छैनन् ।
आन्दोलनको क्रममा मृतकका आफन्तहरूले ढुंगामुढा गर्दा अस्पतालको इमरजेन्सी कक्ष, दर्ता कक्ष, विरामी वार्ड लगायत झ्यालका सीसामा समेत क्षति पुगेको छ ।
अस्पतालको संरचनामा क्षति पुगेको र वातावरण पनि अनुकूल नभएकाले सेवा बन्द गर्नुपर्दा दैनिक करिब २ सय बिरामीहरू उपचारबाट वञ्चित भएको अस्पतालका डाक्टर कालेब बुढाले बताए । अस्पताल आउँदा उपचार नपाएपछि जटिल समस्याका बिरामीलाई नेपालगञ्ज पठाउने गरिएको उनले जानकारी दिए ।
यसैबिच अस्पताल बन्द हुँदा उपचारबाट वञ्चित भएर चौरजहारीमा एक बिरामीको ज्यान गएको छ । जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर बिकको उपचार हुन नपाएर ज्यान गएको हो । दमको समस्या भएर चौरजहारी अस्पतालमा उपचार गराउन आएका बिकको उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु परेको हो ।