साउन २१ गते भक्तपुरका ११ बर्षीया बालक निसान खड्काको अपहरणपछि हत्या गरिएको र अपहरणकारीका नाममा दुईजनालाई गोली प्रहार गरी गरेको हत्या घटनाका सम्बन्धमा निश्पक्ष छानबिन गर्न जबाफदेहीता निगरानी समितिले सरकारसँग माग गरेको छ ।
भएको घटनाप्रति गहिरो दुःख एवं खेद प्रकट गर्दै जबाफदेहिता निगरानी समितिले साउन २३ गते एक विज्ञप्ति जारी गर्दै उक्त घट्नाको निष्पक्ष छानबिन गरी यस्ता घट्ना भबिष्यमा दोहोरिन नसक्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
‘उक्त घट्नाका आरोपित गोपाल तामाङ र अजय तामाङलाई गरिएको ‘इन्काउन्टर’प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ । मुलुकमा बलात्कार, अपहरण तथा हत्या जस्ता अपराधिक घटना बढ्दै आएबाट निगरानी समिति अत्यन्तै चिन्तित एवम् गम्भीर भएको छ । यस्ता अपराधिक घट्नाहरुको बढोत्तरीले नागरिकको शान्ति-सुरक्षामा समेत गम्भीर असर पारेको छ ।’-जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ-‘यस्ता जघन्य अपराधका घट्नामा संलग्न कतिपय ब्यक्तिहरू पक्राऊ परेका छैनन् भने कतिपय ‘इन्काउन्टर’का नाममा मारिएका छन्, जसले गर्दा प्रमाण नष्ट हुनुका साथै संविधानले प्रत्याभुत गरेको नागरिकको बाँच्न पाउने अधिकार समेत हनन् हुन पुगेको छ । हालै भएको भक्तपुरको ‘इन्काउन्टर’ भनिएको घट्नाबारे सार्वजनिक भएका समाचार अनुसार उक्त ‘इन्काउन्टर’मा मारिएका ब्यक्तिहरूलाई कब्जामा लिई गैरन्यायिक हत्या गरिएको भन्ने शङ्का उब्जाएको छ ।’