INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विदेभमा जागिरबाट हटाएको भन्दै प्रधानाध्यापकविरूद्ध उजुरी

दलित भएकै कारण जागिरबाट हटाएको आरोपमा दिक्तेल रूपाकोट मझुवागढी नपा–१ की विन्दा विश्वकर्माले जातीय विभेद भएको भन्दै न्यायको माग गरेकी छिन् ।

आफू दलित भएकै कारण विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक लतितकुमार बस्नेतले जागिरबाट हटाएको आरोपमा विन्दाले जिल्ला प्रशासन कार्यालय खोटाङमा साउन १७ गते उजुरी दिएकी हुन् ।

आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको विश्वकर्माले दर्ता गरेको उजुरीमा उल्लेख छ । ‘रोशन सर र ललित सरले मैले पकाएको चिया र तातो पानीसमेत खानुहुन्नथ्यो’–विश्वकर्माले भनिन्– ‘मलाई यही कारणले हटाएकाले दुवैलाई कारबाही गरिदिनुप¥यो ।’

लामो समयदेखि सो विद्यालयमा कार्यालय सहयोगीको काम गर्दै आएकी विश्वकर्मालाई गत जेठ २७ गतेबाट हटाएर विद्यालयले अर्कै कर्मचारी नियुक्त गरेको छ ।

पीडितले जिल्ला समन्वय समितिलाई समेत बोधार्थ दिएको उजुरीमा आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको दावी गरेकी छन् ।

उजुरी लिएपछि जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले दुवै पक्षलाई राखेर समस्याको समाधान गर्ने बताए । ‘विश्वकर्मामाथि जातीय विभेद र जालसाँजी दुवै भएको देखिन्छ’–उनले भने– ‘घटना गम्भीर भएकाले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारीमा छौँ ।’
आफूलाई हटाएर अर्को व्यक्तिलाई राखेको थाहा पाएपछि विद्यालयमा बुझ्न जाँदा उल्टै हप्काएर पठाएको पीडितको गुनासो छ । विद्यालयका प्रधानाध्यापक ढकाल र सहायक प्रधानाध्यापक बस्नेत दुवैलाई बुझ्न खोज्दा उनीहरू दुवैको मोवाइल स्वीच अफ छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले उजुरी आएकाले दुवै पक्ष झिकाएर वास्तविकता पहिचान गरेर अघि बढ्ने बताए ।

अन्य

भिडियो