पोखरा मनपा–१६ मा रहेको पोखरा इञ्जिनियरिङ क्याम्पसस्थित चमेना गृहमा बाल श्रमिकको रूपमा काम गरिरहेकी १६ वर्षीया बालिकाको साउन १७ गते उद्दार गरिएको छ ।
स्थानीयले दिएको सूचनाका आधारमा गएका राष्ट्रिय मानव अधिकार आयोग पोखरा, केन्द्रीय बाल कल्याण समिति, पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घ, श्रम कार्यालय पोखरा, जिल्ला समन्वय समिति, इलाका प्रहरी कार्यालय बगर, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, थ्री एञ्जल्स्, शक्ति समूहलगायत बाल अधिकारका क्षेत्रमा कार्यरत कार्यालय तथा सङ्घ संस्थाका प्रतिनिधि उद्दार कार्यमा सहभागी थिए ।
केन्द्रीय बाल कल्याण समितिका श्रोत व्यक्ति बद्री वाग्लेले बालश्रमिक राख्न नेपालको संविधानले नै निषेध गरेको बताउँदै बालिकालाई चमेनागृह सञ्चालकले पढाउने प्रलोभन देखाएर ल्याएको भएपनि पारिश्रमिक नदिने र मानसिक हिंसा गर्ने गरेको भेटिएको जानकारी दिए ।
उद्दार गरिएकी बालिकालाई पोखरा स्थित एक सुरक्षित आवास गृहमा पुनस्र्थापना गरिने वाग्लेले बताए । चमेना गृहका सञ्चालक गुल्मी जिल्ला छत्रकोट–३ स्थायी घर भएका ५२ वर्षीय विजय अर्याल रहेका छन् ।