INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षले आमाछोरीको अपहरण, ३२ लाख रुपियाँको माग

राप्ती सोनारी गाउँपालिका-२ मदुईकी २९ वर्षीया यशोदा डाँगी र उनकी आठ वर्षीया छोरी स्मृती डाँगीलाई अज्ञात पक्षले साउन १६ गते राति अपहरण गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ  ।

यशोदाका ३५ वर्षीय पति लोकेन्द्र डाँगीलाई खोज्दै आएका ‘अपहरणकारी’ले लोकेन्द्रलाई नभेटेपछि उनको पत्नी र छोरीलाई अपहरण गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

आठ जनाको समूहमा आएका अपहरणकारीले यशोदा र स्मृतिलाई एम्बुलेन्समा राखेर लगेको स्थानीयबासी डम्बर डाँगीले बताए ।

लोकेन्द्रसँग लेनदेनको विषय रहेको र लोकेन्द्र घरमा नभेट्दा छोरी र पत्नीलाई अपहरण गरेपछि लोकेन्द्र सम्पर्कमा आउँछ भन्ने योजनाका साथ अपहरण गरी लगेको हुनसक्ने स्थानीयबासी डम्बर डाँगीले बताए । यशोदाका पति लोकेन्द्रसँगको लेनदेन भएपछि लामो समयदेखि लोकेन्द्र घरपरिवारको सम्पर्कमा समेत नभएको डम्बर डाँगीले जनाएका छन् ।

स्थानीयबासीले यशोदाको मोवाइल नम्बरमा फोन गर्दा अर्कै महिलाले उठाएको र यशोदालाई लैजाने भए ३२ लाख रुपिँया लिएर बबई क्याम्पस नजिकै तुलसीपुरको बिपी चोक र तुलसीपुरकै एक स्टेशनरीमा सम्पर्क गर्न आउनु भन्दै फोन काटेको डाँगीले बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी यज्ञप्रसाद भट्टराईले लेनदेनको कारोबारमा पतिसँग रकम असुल्नको लागि घरबाट राति २ बजे जबरजस्ती आमाछोरीलाई उठाएर लगेको जानकारी आएपछि प्रहरीको सक्रियतामा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङको सहयोगमा उक्त कार्यमा संलग्न रहेका दुई जनालाई गिरफ्तार गरिएको र बाँकीको खोजतलास भइरहेको जनाइएको छ ।

अन्य

भिडियो