अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले साउन १५ गतेदेखि प्रदेशस्तरीय कार्यालय जनकपुरधाममा स्थापना गरेको छ । सन् १९८९ मा स्थापना भएको इन्सेक देशका ७७ जिल्लाका साथै सातै प्रदेशमा मानव अधिकार अनुगमन र अभिलेखिकरणमा सकृय रहेको छ ।

देश सङ्घीय ढाँचामा गए अनुसार इन्सेकले आफ्ना कार्यालयलाई त्यसै अनुसार परिचालित गर्दै आएको छ । मानव अधिकार विषयहरूलाई प्रदेशगत आधारमा वकालत गर्ने इन्सेकले उद्देश्य राखेको छ ।
मानव अधिकारका विविध विषयमा स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने इन्सेकले अपेक्षा गरेको छ । कार्यालयको उद्घाटन गर्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकारका विविध विषयमा प्रदेश सरकार र मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
पिडारी चोकमा रहेको कार्यालयले मानव अधिकारसँग सम्बन्धित विषयमा आवश्यकता परेमा ३ सय ६५ दिन नै अभिलेखिकरणको कार्य गर्ने जनाइएको छ ।
विभिन्न सङ्घ संस्था, नागरिक समाज, मानव अधिकारकर्मी र पत्रकारहरुको उपस्थितिमा प्रदेश कार्यालय जनकपुरधाममा उद्घाटन गरिएको हो ।
फोटोः विनोदकुमार रविदास
समाचार साभारःप्रदेश नं. २ मा इन्सेकको कार्यालय स्थापना (शिरीष न्यूज)