अनशनरत चिकित्सक प्राध्यापक डक्टर गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा अनौपचारिक संवाद सुरू भएको राससले जनाएको छ ।
सरकारको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रिया सुरू गरेका हुन् ।

उपनेता नेम्वाङले केसीको वार्ता टोली र सरकारी पक्षसँग साउन ८ गते विभिन्न चरणमा छलफल गरे । उनले केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटासँग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग पनि छलफल गरेका थिए ।
“डा केसीका मागलाई कसरी टुङ्गोमा पुर्याउने भन्नेबारे सम्बन्धित पक्षसँग विभिन्न चरणमा छलफल भएको छ, सरकारी वार्ता टोलीले यो विषयलाई लचकताका साथ टुङ्गोमा पुर्याउँछ, हामी बाहिर जो जहाँ छौँ सबैले सहयोग गरौँ भन्ने आग्रह गरियो ।”–नेम्वाङले भने ।
नेता नेम्वाङले संविधान, कानुन र स्थापित अभ्यासलाई भत्कन नदिन संसद्मा दर्ता भएको विधेयक उपर छलफल, समायोजन र परिमार्जन गरी डक्टर केसीका मागमा लचिलो ढङ्गले सम्बोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता दिलाएका थिए ।
सरकारको उक्त धारणाप्रति डक्टर केसी पक्षका वार्ता टोलीले सकारात्मक प्रतिक्रिया जनाउँदै विधेयकमाथिका टिप्पणी र संशोधनसम्बन्धी विषय समेटिएको लिखित प्रतिवेदन नेता नेम्वाङलाई दिएको थियो ।
“हिजो विधेयक नै फिर्ता लिनुपर्ने अडानमा रहेको केसी पक्ष आजको छलफलमा विधेयकलाई समायोजन परिमार्जन गरेर जान सहमत हुनु सकारात्मक प्रगति हो ।”-नेता नेङवाङले भने ।
उनले केसी पक्षसँग भएको छलफललगत्तै सरकारी वार्ता टोलीलाई संसदीय दलको कार्यालयमै बोलाएर छलफलमा उठेका विषय र योजनाबारे जानकारी गराएको र सोही आधारमा सरकार र केसी पक्षबीच वार्ताले सार्थकता पाउनेमा विश्वास व्यक्त गरे ।
यसैबीच प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले दिउँसो डा केसीका माग सम्बोधनबारे माथेमा र डा बाँस्कोटालाई बालुवाटारमै बोलाएर चिकित्सा शिक्षाको सुधारबारे छलफल गरेका थिए । चिकित्सा क्षेत्रको सुधारको माग राखी डक्टर केसी २५ दिनदेखि अनशनमा छन् ।