INSEC Online

📅 २०८३ जेष्ठ २१

तरुण दलको र्‍यालीमा प्रहरी हस्तक्षेप, ४८ जनाभन्दा बढी घाइते भएको कङ्ग्रेसको भनाई

डक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा ५० जना घाइते भएका छन् ।

राससका अनुसार घाइतेको उपचार निजामती र कान्तिपुर अस्पतालमा भइरहेको छ । निजामती अस्पतालमा तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष पुष्प शाहीलगायत ३५ जनाभन्दा बढीको उपचार भइरहेको छ ।

कान्तिपुर अस्पतालमा पूर्वमन्त्री एवम् दलका पूर्वअध्यक्ष महेन्द्र यादवलगायत १२ जनाभन्दा बढीको उपचार भइरहेको छ । अध्यक्ष बस्नेतको टाउको र पाखुरामा चोट लागेको छ ।

तरुण दलले माइतीघर मण्डलाबाट निकालेको जुलुश बिजुली बजार हुँदै नयाँ बानेश्वर पुग्न लाग्दा प्रहरीले अश्रुग्यास र लाठी चार्ज गरेको जनाइएको छ ।

अश्रुग्यास र लाठी चार्ज गरेको स्थानभन्दा माथि नागरिक अगुवाको समूहले कोणसभा गरिरहेको थियो । प्रहरी हस्तक्षेपपछि सभाका सहभागीसमेत प्रभावित भएका थिए ।

जुलुशमा सहभागीले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित आयोगले स्वास्थ्य शिक्षा सुधारका लागि दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, यसअघि नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको अध्यादेशकै भावना अनुरुप कानुन मस्यौदा गरी संसद्मा पेश गर्नुपर्नेलगायत माग गरेका थिए ।

कार्यक्रमको समाचार सङ्कलनका लागि गएका प्रेस युनियनका महासचिव शिवाकोटी प्रहरीको लाठीले घाइते भएको भन्दै युनियनले घोर भत्र्सना गरेको छ ।

अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र रुपमा समाचार सङ्कलन गर्न पाउने अधिकारमाथि प्रहरीले हस्तक्षेप गरेको उल्लेख छ ।

नेपाली कङ्ग्रेसले आन्दोलनका क्रममा नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, नेपाली कङ्ग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायत ४८ जनाभन्दा बढी घाइते भएको भन्दै दुःख व्यक्त गरेको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घले स्वतन्त्रतापूर्वक समाचार सङ्कलनमा रहेका पत्रकारलाई प्रहरीले आक्रमण गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारको विरोध गर्दै साउन ५ गते दिउँसो नेपाल तरुण दलले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म निकालेको प्रदर्शनमा समाचार सङ्कलन गरिरहेका पाँचजना पत्रकारमाथि प्रहरीले लाठी, ढुङ्गा प्रहार गर्नुका साथै कुटपिटसमेत गरेको महासङ्घले जनाएको छ ।

प्रहरीको आक्रमणबाट हाम्राकुरा डटकमका प्रधानसम्पादक एवम् नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, राजधानी दैनिकका महेश्वर गौतम, न्यूज २४ टेलिभिजनका निवेस कुमार, द हिमालयन टाइम्सका स्कन्द गौतम र प्रविन महर्जन घाइते भएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रहरीको आक्रमणबाट घाइते भएका पत्रकारको उपचार बानेश्वरस्थित निजामती अस्पतालमा भइरहेको छ ।

अन्य

भिडियो