राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनरत प्राध्यापक डक्टर गोविन्द केसीलाई काठमाडौँ ल्याउने क्रममा जुम्लामा भएको झडपका क्रममा घाइते भएका चिकित्सक, विद्यार्थी एवम् प्रहरीलाई निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
आयोगले साउन ३ गते प्रेस विज्ञप्ति जारी गरी केसीलाई काठमाडौँ लैजान अनशनस्थल पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कानुनमन्त्री नरेश भण्डारी र सुरक्षाकर्मीलाई केसीका समर्थकले अवरोध गर्ने क्रममा प्रहरीले लाठीचार्ज गर्दा झडप भएको बुझिएको जनाउँदै अस्पतालमा प्रहरीबाट भएको लाठी प्रहार रोक्न आयोगले गृहमन्त्रीलाई तत्कालै मौखिक निर्देशन दिएको उल्लेख गरिएको छ ।
हिंसा र अनुचित बल प्रयोगबाट मानव अधिकारको संरक्षण हुन नसक्ने जनाउँदै आयोगले सार्थक वार्ता र संवादबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।