प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको साउन ३२ गतेको बैठक स्थगन गरिएको छ ।
बैठकको सुरुवातमै कांग्रेसका सांसदहरुले आमरण अनशनरत डक्टर गोविन्द केसीका माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए ।
सोही क्रममा कांग्रेसका सांसद पुष्पा भुषालले आमरण अनशनरत डक्टर गोविन्द केसीका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको र वार्ताका लागि कुनै ठोस् पहल नगरेको आरोप लगाइन् ।
सभामुख कृष्णबहादुर महराले डक्टर केसीका माग बारेको विषय संसद्मा प्रवेश भएको र सरकार पनि गम्भीर देखिएको बताएका थिए ।
उहाँले त्यस बारेमा सरकार के भन्न चाहन्छ र सरकारको धारणा के छ, सरकारका कुरा सुन्नलाई सदनको कारबाही अघि बढाउन दिनुपर्यो भनेर आग्रह गरेका थिए ।
तर सभामुखको पटकपटकको आग्रहपछि पनि कांग्रेसका सांसद आसन ग्रहण नगरी उभिएर विरोध गरिरहेपछि सभामुख महराले संसद् बैठक स्थगन गरे ।