कृष्णपुर नपा-८ शान्तिपुर की १७ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा कृष्णपुर नपा – २ का २१ वर्षीय मदन गिरीलाई असार ३२ गते प्रहरीले गिरफ्तार गरेको छ ।
असार २६ गते कैलालीको अत्तरिया बजारमा सामान किनमेल गर्न गएकी बालिका सोही दिनदेखि बेपत्ता भएकी थिइन् । सामान किनमेल गर्न गएकी बालिका बेपत्ता भएपछि बालिकाका आफन्तहरूले इलाका प्रहरी कार्यालय, कृष्णपुरमा मौखिक उजुरी दिएका थिए ।
कृष्णपुर नपा-२ स्थित मोहना लालझाडी वन क्षेत्रको अमखैया खोला नजिक हत्या गरेर जमीनमा गाडिएको अवस्थामा असार ३१ गते बालिकाको शव फेला परेको थियो ।
हत्या भएको अवस्थामा बालिकाको शव फेला परेपछि बालिकाका आफन्तहरूले बालिकाले अत्तरिया बजारमा सामान किनमेल गरी मदन गिरीको मोटरसाइकलमा फिर्ता भएकी र सोही दिनबाट बेपत्ता भएको भनी दिएको उजुरीका आधारमा प्रहरीले मदन गिरीलाई गिरफ्तार गरेको जनायो ।
मृतक बालिकाको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरमा राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानवहादुर सेठीले बताए ।