स्वास्थ्य परीक्षण प्रतिवेदनमा चिकित्सकहरू संवेदनशील हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा असार २७ गते नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त विषयमा जोड दिएका हुन् ।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधीवक्ता रुकमेडा पोख्रेलले बलात्कार तथा अन्य घटनाका पीडितको न्यायका लागि स्वास्थ्य परीक्षण प्रतिवेदन महत्वपूर्ण हुने भएकाले चिकित्सकहरू त्यसप्रति संवेदनशील हुनुपर्नेमा जोड दिइन् ।
पीडितलाई न्याय दिलाउन समन्वयात्मक भूमिका आवश्यक रहेको उनले बताइन् । गोडा भाँचिएका घटनामा समेत स्वास्थ्य परीक्षण प्रतिवेदनमा त्यसको विपरीत प्रतिवेदन आउँदा पीडित न्यायबाट वञ्चित हुने गरेको सह न्यायाधीवक्ता पोख्रेलले अनुभव सुनाइन् ।
कार्यक्रममा भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डक्टर प्रकाश थापाले जनताको अपेक्षा र वास्तविकताबीच अन्तर रहेको बताए । उनले केही कमी कमजोरी रहेको बताउँदै आगामी दिनमा सच्याउँदै लैजाने आश्वासन दिए ।
डक्टर थापाले फरेन्सिक एक्सपर्टको कमी रहेको बताउँदै राज्यले यस विषयमा ध्यान दिनुपर्ने सुझाव दिए । भेरी अञ्चल अस्पतालकी नर्सिङ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठले एकद्वार सङ्कट व्यवस्था प्रणाली अन्तर्गत सेवा प्रवाह भइरहेको बताइन् ।
बलात्कारका घटना ढिलोगरी अस्पताल आउने गरेको बताउँदै उनले समयमै अस्पतालसम्म आउने वातावरणका लागि सचेतना अभियान सुरू गर्नुपर्ने सुझाव दिइन् । उनले कतिपय घटनामा स्वास्थ्यकर्मी समेतलाई दबाब र धम्की आउने गरेकाले भरसक यस्ता घटना हेर्न नपरे हुन्थ्यो भन्ने मानसिकता स्वास्थ्यकर्मीमा रहेको बताइन् ।
भेरी अञ्चल अस्पतालका डक्टर बद्री चापागाईले पोष्टमार्टमका घटनामा अभिलेखीकरण मात्र भएको र के कारणले मृत्यु भयो भन्ने कुरा खुलाउन नसकिएको बताए । उनले विभिन्न स्रोत साधन र जनशक्ति अभावका कारण समस्या पर्ने गरेको बताए ।
उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका अध्यक्ष बलबहादुर चन्दले स्वास्थ्य परीक्षण प्रतिवेदनप्रति संवेदनशील हुनुपर्ने बताउँदै अदालतले बोलाएको अवस्थामा चिकित्सक उपस्थित हुनुपर्ने धारणा राखे ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा मानव अधिकार निगरानी समितिका संयोजक बसन्त गौतमले चिकित्सकले घटनाको विस्तृत विवरण नसोध्ने, कतिपय अवस्थामा चलखेल हुने, अदालत जान नपरोस भन्ने मनसायले चिकित्सकले बीचको प्रतिवेदन बनाउने गरेको आम नागरिकको गुनासो रहेको बताए ।
पीडितमैत्री वातावरण र गोपनीयताका सवाललाई चिकित्सकले ध्यान दिनुपर्नेमा उनको सुझाव छ । माइती नेपालका संयोजक केशव कोइरालाले समय र वातवरणलाई ध्यान दिनुपर्ने बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष ठाकुरसिंह थारुले विभिन्न १४ वटा बलात्कारका घटनाका स्वास्थ्य परीक्षण प्रतिवेदनमा एउटै प्रकृति भएको पाइएको बताउँदै चिकित्सकहरू संवेदनशील हुनुपर्ने बताए ।
कार्यक्रममा इन्सेक नेपालगञ्ज कार्यालयका संयोजक भोला महतले इन्सेकले आयोजना गरेका विभिन्न कार्यक्रममा बलात्कार र महिला हिंसाका घटनामा अस्पतालको लापरवाहीको विषयमा प्रश्न उठने गरेकाले वास्तविकता, समस्या र चुनौती के के हुन पत्ता लगाएर समाधानका उपाय खोज्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । इन्सेक संयोजक महतले यस विषयमा निचोड निकाल्न सके पीडितहरूले न्याय पाउन सहज हुने बताए ।