प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा दशरथचन्द नपा-५ कुमाली निवासी दशरथचन्द नगरपालिकामा कार्यरत कर्मचारी भक्तराज भट्टलाई सडक खन्न लगाएर भुक्तानी नदिएको आरोपमा पाटन नपा-९ सिद्धेश्वर निवासी ४५ वर्षीय निर्माण व्यवसायी रामशरण भट्टले असार २६ गते दुर्व्यवहार गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय, बैतडीको इजलासमा सडक निर्माणसम्बन्धी छलफल भइरहेको अवस्थामा रामशरणले ओभरसियर भट्टको गालामा थप्पड हानेर दुर्व्यवहार गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।
तत्कालीन जिल्ला विकास समितिमा कार्यरथ रहँदा ओभरसियर भट्टले काम गर्न आदेश दिएको तर काम सम्पन्न भइसक्दा समेत भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी भट्टले कर्मचारीमाथि हातपात गरेको प्रत्यक्षदर्शी प्रेम भाटले बताए ।
जिल्ला प्रशासन कार्यालयमा सिडिओ, प्रहरी प्रमुख, अनुसन्धान अधिकृतलगायतका व्यक्तिहरूको उपस्थितिमा सडककै विवादका बारेमा छलफल चलिरहेको अवस्थामा भट्टले कर्मचारीको कञ्चटमा थप्पड हानेपछि उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाउने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।