१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बोदे बर्साइन गाउँपालिका-६ काचनका २२ वर्षीय धर्मेन्द्रकुमार दास तत्मालाई जिल्ला अदालतले असार १७ गते आठ वर्षकैद सजायको फैसलाका साथै ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई आठ वर्षकैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले बताए ।
पीडित बालिकालाई आरोपितले ०७२ भदौ १ गते राति पीडितको घरको ढोका तोड्दै बालिकाको मुखमा रुमाल कोचेर बलात्कार गरेकोमा प्रतिकार हुँदा होहल्ला भई स्थानीयवासीले घटनास्थलबाट नियन्त्रणमा लिई भदौ २ गते इलाका प्रहरी कार्यालय बोदे बर्साइनमा बुझाएका थिए ।
इलाका प्रहरी कार्यालय बोदे बर्साइनले सहमतिमा घटना मिलाउने प्रयत्न गर्दै आरोपितलाई उनका बावुको जमानतमा भदौ २ गते नै छाडेको थियो ।
इलाका प्रहरी कार्यालय बोदे बर्साइनले कारबाही प्रकृया अगाडि नबढाएपछि पीडितकी आमाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७२ भदौ ९ गते किटानी उजुरी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा ०७२ भदौ ९ गते गरिएको थियो ।
जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले फरार आरोपितका नाममा ०७२ असोज १ गते वारेण्टसहितको म्यादी पूर्जी जारी गरेकामा अदालतमा ०७३ असोज १२ गते हाजिर भएका आरोपितलाई न्यायाधीश कुलप्रसाद शर्माको इजलासले २० हजार रुपियाँ धरौटी राखी तारेखमा रिहा गरेको थियो । जनकपुर उच्च अदालत राजविराज इजलासले ०७३ चैत १७ गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि अरोपित तारेख छाडेर फरार रहेका छन् ।