चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा तत्काल जारी गर्नुपर्ने माग राख्दै असार १५ गतेबाट आमरण अनसन बस्न लागेका डा. गोविन्द केसीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले अवरोध सिर्जना गरेको छ ।
डा. केसीले अनसनका लागि यस पटक जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई रोजेका हुन् । तर, डा. केसीले अनसन सुरू गर्ने भनिएको प्रतिष्ठान परिसरलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ ।
डा. केसीको अनसन बिथोल्ने गरी प्रशासनले अनसन बस्ने दिन नै असार १५ गते प्रतिष्ठान परिसरको २ सय मिटर वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो । जिल्ला प्रशासनले यो सँगै थप दुई स्थानलाई पनि निषेधित क्षेत्र तोकेको छ । प्रशासनले जारी गरेको पत्र अनुसार प्रतिष्ठान परिसरसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयदेखि २ सय मिटर वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।
अनसनका लागि डा. केसी शुक्रबार बेलुकी जुम्ला सदरमुकाम खलङ्गा पुगेका थिए । डा.केसी अनसन बस्नु भन्दा पहिले नै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर निषेधित क्षेत्र तोकिसकेको थियो । जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको हस्ताक्षर भएको विज्ञप्तिमा जुम्लामा रहेको ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल’ तथा प्रशासन कार्यालय वरिपरि प्रदर्शन गर्न रोक लगाइएको सूचना जारी गरिएको छ ।
‘नागरिकको अभिव्यक्ति स्वतन्त्रताका लागि म जुम्लामा अनसन बस्न लागेको हुँ । तर, संविधानमै लेखिएको अभिव्यक्ति स्वतन्त्रताका विरूद्धमा प्रशासनले प्रतिबन्ध लगाउँछ भने त्यसको नतिजा राम्रो हुँदैन ।’-डाक्टर केसीले भने ।
डाक्टर केसीले सरकारले चिकित्सा विधेयक तोडमोड गरेर ल्याउन लागेपछि सरकारलाई ध्यानाकर्षण गर्न तथा निर्णायक आन्दोलनको रूपमा १५ औँ अनसनको घोषणा गरेको बताए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लामो समयसम्म एमबीबीएस पढाईको बाटो खुला नगरेकोमा आपत्ति जनाउँदै जुम्लामै अनसन बस्न लागेको बताए ।