INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार गरेको कसुरमा जनही १३ वर्षकैद फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-५ का ५५ वर्षीय बिकु मुखिया, ३० वर्षीय श्यामा मुखिया र वडा नं ३ का ४० वर्षीय लकेन्द्र भनिने जोगेन्द्र मुखियालाई जिल्ला अदालतले असार १५ गते जनही १३ वर्षकैद सजायको फैसला गरेको छ ।

न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले सो फैसला गरेको जिल्ला अदालतका रजिष्ट्रार दिलकुमार बर्देवाले बताए । जिल्ला सरकारी वकिल कार्यालयको ०६८ माघ २२ को पत्रका आधारमा आरोपित मध्येका तिलाठी कोइलाडी गाउँपालिका-५ का ३५ वर्षीय डोमी मुखियाको मुत्यु भइसकेकाले उनलाई खतबात नलाग्ने फैसला भएको छ ।

पीडित बालिकालाई आरोपितहरूले ०६४ असोज ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

बालिकासँगै गएका अन्य तीनजना बालकलाई आरोपितहरूले डोरीले बाँधी बालिकालाई सामूहिक बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा ०६४ असोज ९ गते गरिएको थियो । स्वास्थ्य परीक्षणमा चिकित्सकहरूले २४ घण्टाभित्र पीडितमाथि बलात्कार भएको भनी प्रतिवेदन दिएका थिए ।

अदालतले फरार रहेका आरोपितहरूका हकमा ०६४ कात्तिक २६ गते वारेण्टसहितको म्यादी पुर्जी जारी गरेको थियो ।

अदालतले ०६९ असार १३ गते आरोपितहरूको अंश रोक्का गर्दै मुद्दा मुल्तवीमा राखेको थियो । मुल्तवीबाट ०७३ कात्तिक २४ गते जागेको सो मुद्दा असार १५ गते फैसला भएपनि आरोपितहरू हालसम्म फरार नै छन् ।

अन्य

भिडियो