तिरहुत गाउँपालिका-४ की १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले भारत बिहार कर्जाइन ग्रामपञ्चायत कर्जाइन-७ का १८ वर्षीय रामकुमार मुखियालाई असार ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाको उजुरीमा सुनसरीको भण्टाबारीबाट सुनसरी प्रहरीले आरोपितलाई गिरफ्तार गरी सप्तरी प्रहरीमा बुझाएपछि इलाका प्रहरी कार्यालय कञ्चनरूपले बाल विवाहको उजुरीमा कारबाही गरिरहेको इन्स्पेक्टर प्रतिक विष्टले बताए ।
सामाजिक परम्पराअनुसार पीडितका अभिभावकले ०७५ जेठ ६ गते रात्रीलग्नमा आरोपितसँग इच्छाविपरित विवाह गराइ दिएको बालिकाले बताइन् ।
पीडित बालिकाले बालविवाहमा संलग्न आफ्ना ३६ वर्षीय बुवा विजयकुमार मुखिया, ३४ वर्षीया आमा ललीतादेवी मुखिया र ६० वर्षीय हजुरबुवा कैलु मुखियासहित नाम थाहा नभएको आरोपितका बुवा, आमाविरूद्ध समेत इलाका प्रहरी कार्यालयमा असार ८ गते उजुरी दिएकी छन् ।
अन्य आरोपितमध्ये पीडितका बुवा, आमा र हजुरबुवा गाउँघर छाडेर फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।