बेवारिसे अवस्थामा फेला परेकी एक सुस्त मनस्थितिकी महिलालाई सप्तरी प्रहरीले जेठ ३१ गतेदेखि संरक्षण गरेर राखेको छ ।
महिला तथा बालबालिका कार्यालयद्वारा सञ्चालित सुरक्षित आश्रय सेवा केन्द्र (सेफ हाउस) बन्द भएपछि ती महिलालाई प्रहरीले संरक्षण गरेर राख्नु परेको हो । ती महिलाको संरक्षणको लागि जिल्ला प्रहरी कार्यालयले एक जना महिला प्रहरी खटाई नियमित रूपमा संरक्षण गर्दै आएको छ ।

१० दिनअघि रूपनी गाउँपालिकास्थित सडकमा अलपत्र अवस्थामा फेला परेकी उनलाई उद्धार गरी ल्याइएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर सुजता तुम्वाहाम्फेले बताइन् ।
नाम, ठेगाना बताउन नसक्ने करिब २० वर्षीया युवतीको पहिचान हुन नसक्दा उनलाई परिवारका सदस्यको जिम्मा लगाउन नसकिएको प्रहरीले जनाएको छ ।
‘एकहोरो टोलाइरहने र हाँसिरहने स्वभावकी युवतीको होश ठेगानामा नहुँदा कोठा भित्रै शौच गर्ने र राति चिच्याउने, ढोकामा हिर्काउने गर्छिन् ।’-इन्स्पेक्टर तुम्वाहाम्फेले भनिन्-‘उनलाई तत्कालै उपचारको खाँचो छ । तर, आफन्तको पहिचान हुन नसकेकाले र सहयोगी संस्थाहरूले जिम्मा नलिएकाले अवस्था जटिल बन्दै आएको छ ।’
नयाँ संरचनाअनुसार जिल्लास्तरमा महिला तथा बालबालिका कार्यालयको अस्तित्व नरहेपछि सुरक्षित आश्रय सेवा केन्द्र पनि बन्द भएको प्रमुख महिला विकास अधिकृत चन्द्रकला श्रेष्ठले बताइन् । ‘तीन महिना अघिसम्म यस्ता काम महिला तथा बालबालिका कार्यालयले गर्ने गरेकामा कार्यालय नै नरहेपछि बन्द गर्नुपरेको छ ।’-श्रेष्ठले भनिन्-‘स्थानीय तहहरूले आश्रय केन्द्र सञ्चालनको जिम्मेवारी नलिए समस्या बढ्दै जानेछ ।’ असार नसकिँदै जिल्लास्थित कार्यालय बन्द गर्ने परिपत्र आइसकेको उनले जानकारी दिइन् ।
आश्रय केन्द्रको सेवा बन्द हुँदा अलपत्र र हिंसामा परेका महिलाको संरक्षणको जिम्मेवारी पनि प्रहरीमा सरेको हो । अनुसन्धानका लागि अपराधमा संलग्न आरोपितहरूलाई हिरासतमा राख्ने प्रहरीले नै आश्रय केन्द्रले गर्ने संरक्षणको काम पछिल्लो समय गर्नु परेपछि नागरिकको सुरक्षा तथा अपराध नियन्त्रणका काममा व्यवधान पुग्न सक्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मुकेशकुमार सिंह बताउँछन् ।
स्थान अभाव, हेरविचार गर्ने जनशक्ति र युवतीको कमजोर स्वास्थ्य अवस्थाका कारण धेरै दिनसम्म राख्न समस्या भइरहेको इन्स्पेक्टर सुजाता तुम्बाहाम्फेले बताइन् ।
परिवारको पहिचान नभएपछि महिला प्रहरीको नियमित हेरविचारमा रहेकी ती युवतीलाई परोपकारी सङ्घ-संस्थाको जिम्मा लगाउने पहल भइरहेको भएपनि सफल हुन नसकेको प्रहरीले जनाएको छ ।
मानव सेवाको क्षेत्रमा काम गर्ने केही संघ-संस्थासँग नियमित सम्पर्क गरिरहेको जनाउँदै उनले ती संस्थाहरूले युवतीको हेरविचारका लागि स्थानीय तहबाट आर्थिक सहयोग उपलब्ध गराइदिन माग गरेपछि जिम्मा लगाउन नसकिएको बताइन् ।
अलपत्र अवस्थामा परेका, हिंसामा परेका महिलाहरूको सुरक्षा र आश्रयका लागि सुरक्षित आश्रय केन्द्रको आवश्यकता औँल्याउँदै जिल्ला बाल कल्याण समितिका सदस्य बैद्यनाथ झाले आश्रय केन्द्रको सेवा पुनः सुचारू गर्न सम्बन्धित निकायसँग माग गरे ।