राजविराज नपा-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी फालिएको शव उनकै घरको शौचालयको सेफ्टी ट्याङ्कीमा असार १ गते फेला परेको छ ।
घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टी ट्याङ्कीबाट हत्या गरी फालिएको अवस्थामा साहको सडेगलेको शव प्रहरीले असार १ गते उत्खनन् गरी फेला पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।
गाउँमा दुर्गन्ध फैलिएपछि स्थानीयबासीले प्रहरीलाई खबर गर्नासाथ डिएसपी रिमालको नेतृत्वमा पुगेको प्रहरीको टोलीले शव उत्खनन गरी सेफ्टी ट्याङ्कीबाट निकालेको हो । शवको पोष्टमार्टम धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १ गते गरिएको छ ।
मृतकका पति सुर्यनारायण साह र दुई वर्षीया छोरी प्रतिभा जेठ २७ गतेदेखि ‘बेपत्ता’ रहेको र जेठ २७ गतेदेखि घरमा ताला लागेको गाउँलेहरूले बताए । हत्याको आरोपमा प्रहरीले मृतकका पतिको खोजबिन गरिरहेको एसपी मुकेशकुमार सिंहले बताए ।
भारत पञ्जाबको जालन्धरबाट २४ वर्षछि ०७२ असार ११ गते घर फर्केका सुर्यनारायणले ०७२ सालमै छिन्नमस्ता गाउँपालिका-५ खुदीभखारीकी बेचनीसँग विवाह गरेका थिए ।